काठमाडौँ,२ जेष्ठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नगर कार्यपालिकाअन्तर्गत रहेका चार महत्वपूर्ण समितिमा नेतृत्व हेरफेर गरेकाे हाे ।

साे कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ अनुसार गठन गरिएका समितिमा संयोजकको जिम्मेवारी परिवर्तन गरिएको हो।
महानगरले जारी गरेको सूचनामा भनिएको छ, संयोजक फेर्ने प्रक्रिया उपनियम (१) बमोजिम गरिएको हो। परिवर्तन गरिएका समितिहरु सूचना प्रविधि, सुशासन, सम्पदा तथा पर्यटन, र विधायन समिति रहेका छन्।
पहिले क्रमशः नविन मानन्धर, ख्यामराज तिवारी, आशामान संगत र मचाराजा महर्जनले नेतृत्व गरिरहेका यी समितिहरूमा अब नयाँ अनुहारले जिम्मेवारी सम्हाल्ने भएका छन्।
नयाँ संयोजकको रूपमा क्रमशः वीरेन्द्र प्रजापति, दलबहादुर कार्की, विनोद कुमार राजभण्डारी र रोजिना श्रेष्ठ नियुक्त भएका छन्।
महानगरका अनुसार यो निर्णय संस्थागत सशक्तिकरण र कार्यसम्पादनमा प्रभावकारिता ल्याउने उद्देश्यले गरिएको हो।