काठमाडौं, १४ वैशाख । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख १७ गते औपचारिक रूपमा एकीकरणको घोषणा हुने भएको छ। जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले पार्टी एकता घोषणा कार्यक्रमको मिति तय भएको जानकारी दिनुभएको हो।
एकीकरणको तयारीका लागि जनमत पार्टीले वैशाख १६ गते (मंगलबार) बेलुका ६ बजे पार्टीको केन्द्रीय कार्यालय, मध्यबानेश्वरमा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान गरेको छ। बैठकमा सहभागिताका लागि नेताहरुलाई नागरिकता र मतदाता परिचयपत्र लिएर उपस्थित हुन सूचना दिइएको छ ।
एकीकरण घोषणा कार्यक्रम वैशाख १७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ।
कार्यक्रममा सबै केन्द्रीय सदस्य, भातृ संगठन तथा शुभेच्छुक सदस्यहरुलाई उपस्थिति हुन जनमत पार्टीले आग्रह गरेको छ।
नेताहरुका अनुसार एकीकृत पार्टीको नाम, झण्डा र नेतृत्वबारे करिब सहमति भइसकेको छ। नयाँ पार्टीको नाम नागरिक जनमत पार्टी रहने तय भएको छ।
पार्टी एकीकरणपछि अध्यक्षको जिम्मेवारी हालका जनमत पार्टी अध्यक्ष सिके राउतले सम्हाल्नेछन्। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी नयाँ पार्टीका संरक्षक रहने छन् भने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्ष बन्ने सहमति भएको छ।
यद्यपि विसं २०७७ मा सिके राउतको नेतृत्वमा जनमत पार्टी गठन भएको थियो भने विसं २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टीको स्थापना भएको थियो। हाल संसदमा जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद रहेका छन्।