काठमाडौं, १९ फागुन । ‘वन्यजन्तु संरक्षणमा वित्त, मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभरि यस दिवस मनाइँदै छ ।
“आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस”। यस दिवसले वन्यजन्तुको संरक्षण, जैविक विविधताको महत्त्व र पारिस्थितिकीय सन्तुलन जोगाउने आवश्यकताप्रति ध्यान केन्द्रित गराउँछ”।

आज संयुक्त राष्ट्रसङ्घको ६८औँ महासभाले २०१३ डिसेम्बर २० मा वन्यजन्तु तथा वनस्पतिको संरक्षणबारे जनचेतना अभिवृद्धि गर्न मार्च ३ लाई ‘विश्व वन्यजन्तु दिवस’ को रूपमा घोषणा गरेको थियो। सन् १९७३ मा आजकै दिन ‘लोपोन्मुख प्रजातिका वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (सिआइटिईएस )’ अनुमोदन भएको थियो, जसले विश्वभरका वन्यजन्तु तथा वनस्पतिको अवैध व्यापार नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेलेको हो ।
त्यसैगरी, सोही वर्ष थाइल्याण्डको राजधानी बैंककमा सम्पन्न सिआइटिईएस पक्षराष्ट्रहरूको सम्मेलनले विश्व वन्यजन्तु दिवस मनाउने प्रस्ताव पारित गर्दै महासभामा स्वीकृतिका लागि सिफारिस गरेको हो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सिआइटिईएसको सचिवालयले विभिन्न अन्तर्राष्ट्रिय निकाय र संस्थाहरूसँग सहकार्य गर्दै वन्यजन्तु तथा वनस्पतिको संरक्षणसम्बन्धी परियोजनाहरू कार्यान्वयन गरिरहेको हो । हाल विश्वभर १८३ देश सिआइटिईएसमा सदस्य छन्।
तर, तथ्यांकअनुसार हाल दश लाखभन्दा बढी वन्यजन्तु तथा वनस्पतिका प्रजाति लोप हुने जोखिममा छन्। जैविक विविधता जोगाउन र वन्यजन्तु संरक्षणका लागि ठूलो आर्थिक लगानी आवश्यक रहेको विज्ञहरू बताउँछन्।

वन्यजन्तु र मानव अस्तित्व परस्पर निर्भर छन् । प्राकृतिक सन्तुलन कायम राख्न वन्यजन्तुको संरक्षण अनिवार्य छ । अतः यो दिवसले वन्यजन्तु संरक्षणमा सरकारी तथा गैरसरकारी क्षेत्र, समुदाय र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको सन्देश दिन्छ ।