img

सरकारी अस्पतालमा अनिवार्य रूपमा औषधि उपलब्ध गराइने ः स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल

इलाम, १८ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अब सरकारी अस्पतालमा स्वास्थ्य बिमा योजनाका औषधि अभाव हुने अवस्था अन्त्य गरिने बताउनुभएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

आइतबार इलाम अस्पतालको अनुगमन गर्दै मन्त्री पौडेलले स्वास्थ्य बिमा बोर्डले सूचीबद्ध ९८ प्रकारका औषधिहरू प्रत्येक अस्पतालमा अनिवार्य रूपमा उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो।

“अब अस्पतालले औषधि छैन भन्न पाउने छैन,“ मन्त्री पौडेलले स्पष्ट पार्दै भन्नुभयो, “औषधि अभाव गैरकानुनी हुनेछ, यसको रोकथामका लागि स्वास्थ्य मन्त्रालयले कडा नीति अवलम्बन गर्नेछ” ।

उहाँले चिकित्सकहरूले बिरामीलाई लेखेका औषधि अस्पतालमै उपलब्ध गराउनुपर्ने र कुनै पनि बहानामा बिरामीलाई बाहिर पठाउने छुट नभएको बताउनुभयो ।
अनुगमन गर्दै मन्त्री पौडेलले,भने चिकित्सक दरबन्दीको समस्या समाधान गरिने बताएको हो । “अब सरकारले खटाएको ठाउँमा चिकित्सकहरू अनिवार्य रूपमा सेवा दिनुपर्छ,” उहाँले थप्नुभयो, तराईका अस्पतालहरूमा आवश्यकभन्दा दोब्बर चिकित्सक रहेका छन्, अब समानुपातिक रूपमा चिकित्सक वितरण गरिनेछ ।

स्वास्थ्य पूर्वाधार सुधारमा प्राथमिकता
स्वास्थ्य सेवा प्रभावकारी बनाउन अस्पताल तथा स्वास्थ्य चौकीहरूले आफूले आवश्यक पर्ने मात्र उपकरण तथा पूर्वाधारका लागि माग गर्नुपर्ने मन्त्री पौडेलले बताउनुभयो।
“स्वास्थ्य चौकीहरूले एमआरआई वा सिटी स्क्यान माग्नु यथार्थपरक हुँदैन, त्यसैले आवश्यकतानुसार मात्रै माग गरिनुपर्छ,” उहाँले भन्नुभयो। साथै तीनै तहका सरकारले समन्वय नगरी छुट्टाछुट्टै नीति लागू गर्दा स्वास्थ्य सेवा प्रभावकारी नहुने भन्दै उहाँले केन्द्र, प्रदेश, र स्थानीय तहबीच एकीकृत नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।
“स्वास्थ्य सेवा सुधारका लागि एकीकृत नीति अवलम्बन गर्न आवश्यक छ,“ मन्त्री पौडेलले भन्नुभयो। “अब सरकारी अस्पतालहरूमा अनिवार्य रूपमा औषधि उपलब्ध गराइनेछ, बिरामीहरूले अनावश्यक सास्ती भोग्नुपर्ने अवस्था अन्त्य गरिनेछ” ।


प्रतिक्रिया दिनुहोस् ।