अपूर्व न्यूज समाचारदाता ।
काठमाडौं, कार्तिक ९ गते । लामो समयदेखि मधेस राजनीतिमा सक्रिय नेता राजेन्द्र महतोले शुक्रबार नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा औपचारिक निवेदन दिएका छन् ।
महतोले ‘राष्ट्रिय मुक्ति पार्टी, नेपाल’ नामको नयाँ राजनीतिक दल दर्ता गराउन खोजेका हुन्, जसको अध्यक्ष स्वयं महतो रहेका छन् । पार्टीको प्राथमिक उद्देश्य मधेसका मुद्दालाई थप सशक्त बनाउन रहेको बताइएको छ।

महतोले नयाँ राजनीतिक पार्टीमा १ सय ७३ सदस्यीय केन्द्रीय समिति गठनको प्रस्ताव रहेको छ। पार्टीका वरिष्ठ नेता केशव झाका अनुसार, निर्वाचन आयोगमा पार्टी दर्ताका लागि आवश्यक सम्पूर्ण दस्तावेजसहित निवेदन पेस गरिएको छ।
“पार्टी दर्ताका लागि निवेदन दिएका छौँ, अध्यक्ष महतोसहित १ सय ७३ जना केन्द्रीय समितिमा रहनेगरी निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छौँ,“ झाले बताए।
नयाँ पार्टीले चुनाव चिह्नको लागि पार्टीले “माछा” मागेको झाले जानकारी दिएको हो । चुनाव चिह्नले पार्टीका मुख्य मुद्दाहरू—मधेसका अधिकार, समतामूलक समाज, र आर्थिक सशक्तिकरणलाई झल्काउने विश्वास गरिएको छ। महतोले यसअघि आफ्नो पुरानो पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर नयाँ पार्टी घोषणा गरेका थिए ।
मधेस राजनीतिमा महतोको नयाँ अभियान
राजेन्द्र महतोले लामो समयसम्म मधेस आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। नयाँ पार्टीसँगै उनले मधेसको स्वतन्त्रता, समानता, र समृद्धिको पक्षमा संघर्षलाई नयाँ तरिकाले अघि बढाउने योजनामा रहेको संकेत गरेका छन्।
उनको नयाँ पार्टीको स्थापनासँगै मधेस राजनीति थप रोचक बन्ने अनुमान गरिएको छ, जसले मधेसका मुद्दालाई सशक्त बनाउँदै राष्ट्रिय राजनीतिमा नयाँ धारणा ल्याउने अपेक्षा गरिएका थिए ।