img

अभियुक्त पक्रेर कारबाही गर्न गृहमन्त्रीलाई ज्ञापन


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर, २३ साउन । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ६ फत्तेपुर टोलका पृतम पासवानका परिवारमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भए पनि अभियुक्तहरूलाई पक्राउ नगरेको भन्दैं कारबाहीका लागि दलित अधिकारकर्मीहरूले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

दलित सरोकार मञ्च नेपाल सप्तरीका कार्यकारी निर्देशक भोला पासवान सप्तरी प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीलाई ज्ञापनपत्र बुझाउदैं ।

बुधबार दलित सरोकार मञ्च नेपाल सप्तरीका कार्यकारी निर्देशक भोला पासवानको अगुवाइमा जिल्लाका दलित अभियन्ता, दलित अधिकारकर्मी र दलित संघ÷संस्थाका प्रतिनिधिहरूले सप्तरी प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीलाई यस्तो पत्र बुझाएका हुन् । गत असार १ गते शनिबारका दिन पृतमका परिवारमाथि पूर्वक्षेत्रपाल हरिसुद यादवलगायतले घरेलु हतियारद्वारा आक्रमण गरेका थिए । पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सप्तरीमा ७ जनाविरुद्ध असार ११ गते ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका छन् । तर पनि उनीहरूलाई प्रहरीले पक्राउ नगरेको भन्दै दलित अधिकारकर्मीहरू आक्रोशित भएका छन् ।

सो घटनामा संलग्न व्यक्तिहरू विभिन्न राजनीतिक दलसँग आबद्ध रहेका कारण प्रहरीले पक्राउ गर्न डराइरहेको अधिकारकर्मीको दाबी छ । जबकि आरोपितहरू गाउँमै खुलेयाम हिँडिरहेका छन् र उल्टै मुद्दा दर्ता गरेको भन्दै पीडित पक्षलाई धम्क्याइरहेका छन् । यस्तो अवस्थाले पीडितहरू थप पीडा सहन बाध्य बनेका छन् ।

पासवान परिवार करिब २० वर्षदेखि सो ठाउँ (पोखरीको डिल) मा बस्दै आएका थिए । उनीहरूको अन्यत्र कतै जमिन छैन । यो परिवार सुकुमबासी हो । फत्तेपुर टोलमा गत असार १ गते बाटो विस्तार गर्ने निहुँमा आफ्नो घर भत्काउन खोजिएपछि पासवान परिवारले रोकेका थिए । त्यही क्रममा पासवान परिवारलाई हरिसुदन यादव, रोशन यादव, निरजकुमार यादव, रामनारायण यादव, विवेक यादव, ऋषि यादव भन्ने कृष्णानन्द यादव, रोहित यादवलगायत ११ जनाको समूहले खुकुरी, लाठी, चिर्पट, हँसिया, फलामका रडलगायत घरेलु हतियारद्वारा आक्रमण गरेका थिए ।
आक्रमणबाट प्रितम, मुसनीदेवी पासमान, रञ्जित पासमान, सरितादेवी पासमान, रितु पासमान र राखी पासमानलगायत घाइते भएका थिए । त्यसपछि परिवारका सबै सदस्य अस्पताल भर्ना हुनुपरेको थियो । औषधि उपचारमा ३ लाख रुपियाँ भन्दा बढी खर्च भइसकेको छ । आक्रमणबाट घाइते भएकाहरू स्थानीय उमाकान्त कल्पना मेमोरियल हस्पिटल गएकामा त्यहाँ उपचार सम्भव नभएपछि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गराएका थिए ।

सो घटनालगत्तै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय पुगेका पासमान परिवारको ९ दिनसम्म त उजुरीसमेत लिइएन । राष्ट्रिय दलित आयोग, दलित सरोकार मञ्च नेपाल सप्तरी र दलित अधिकारकर्मीहरूको निरन्तर दबाबपछि बल्ल उजुरी दर्ता भएको हो ।

६ जनाको परिवारमा आक्रमणका कारण ४ जनाको अवस्था गम्भीर बनेको थियो । डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कुशेश्वरप्रसाद यादवले समेत राजनीतिक दबाब र प्रभावमा परेर प्रहरीले आरोपितहरूलाई पक्राउ नगरेको दाबी गरेका छन् । उनको घर नभत्काइकन पनि बाटो बनाउने सम्भावना हुँदाहुँदै दलित भूमिहीनको घर भत्काउन खोज्नु अमानवीय व्यवहार भएको वडाध्यक्षकै समेत भनाइ छ ।

त्यसैले सांघातिक आक्रमणमा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्न, औषधि उपचारको खर्च भराइदिने व्यवस्था मिलाइदिन र आगामी दिनमा आक्रमण नगर्ने तथा आफ्नो घरमा शान्तिपूर्वक बस्न पाउने व्यवस्था सुनिश्चित गराएदिनका लागि दलित अधिकारकर्मीहरूको अगुवाइमा ज्ञापनपत्र बुझाइएको हो ।
सो ज्ञापनपत्रमा सप्तरी जिल्लाको विभिन्न कालखण्डका यस्तैखाले घटना भइरहेका अवगत गराउँदै सप्तरीकै रुपनी गाउँपालिका वडा नं. ३ का मिटरब्याजी पीडित रुन्दीलाल मोचीलाई जगदीश साह र लीलादेवी सेठबाट जग्गा फिर्ता गराइ न्याय दिलाउन पनि माग गरिएको छ ।

यसरी नै सप्तरीकै बिष्णुपुर गाउँपालिका वडा नं. ६ मा अन्तरजातीय विवाहका कारण पीडित बनेका जितु रामका छोरा मनोज रामले न्याय दिलाउन तथा अग्निसाइबर कृष्णासवरन गाउँपालिकाका केटी पक्षका वविता इसरले आफ्नै बुबा र आमालाई कीर्ते मुद्दा दिएकाले हालसम्म कुनै सुनुवाइ नभएकोबारे पनि कारबाहीका लागि ध्यानाकर्षण गराइएको छ ।

दलित सरोकार मञ्च नेपाल सप्तरीको अगुवाइमा जिल्लाका दलित अभियन्ता, दलित अधिकारकर्मी र दलित संघ÷संस्थाका प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत गृहमन्त्रीसमक्ष पेस गरेका ज्ञापनपत्रको बोधार्थ मधेस प्रदेशस्तरीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति, मधेस प्रदेस मानव अधिकार आयोग, क्षेत्रीय कार्यालय जनकपुर, राष्ट्रिय दलित आयोग काठमाडौँ, दलित विकास समिति, मधेस प्रदेशसमेत दिइएको छ ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार