img

न निर्माण बोर्ड, न जानकारी : कञ्चनरुप–८ मा साइनबोर्ड विना नाला निर्माण


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर (सप्तरी),४ असार । सप्तरीकाे कञ्चनरुप नगरपालिका–८ अन्तर्गत कञ्चनपुर नन्दलाल चोकदेखि पश्चिमतर्फ रहेको पब्लिक आधारभूत विद्यालय सडक खण्डमा दुई तर्फ नाला काम भइरहेको  निर्माणस्थलमा साइनबोर्ड राखिएको छैन।

कञ्चनरुप नगरपालिका–८ अन्तर्गत कञ्चनपुर नन्दलाल चोकदेखि पश्चिमतर्फ रहेको पब्लिक आधारभूत विद्यालय सडक खण्डमा दुई तर्फ नाला काम भइरहेको निर्माणस्थल

यद्यपि कञ्चनपुर पब्लिक आधारभूत विद्यालय सडक खण्डमा दुई तर्फ गरी करिब २७४ मिटर लम्बाइको नालाकाे काम तिव्र गतिमा भइरहेको छ । तर निर्माण स्थलमा कुनैपनि जानकारीमूलक साइनबोर्ड वा विवरण नभएकोले सो निर्माण कार्यप्रति स्थानीयवासीहरूमा गम्भीर प्रश्न उठेका छन्।

कञ्चनरुप–८ मा सार्वजनिक निर्माण कार्यबारे प्रस्ट जानकारी नहुँदा स्थानीयमा अन्योल

साे निर्माण स्थलमा योजना सम्बन्धी जानकारी दिनुपर्ने साइनबोर्ड वा प्लेक्स बोर्ड नराखिएको अवस्थामा स्थानीयले यस कार्यबारे अन्योल व्यक्त गरेकाे हाे।

“काम त भइरहेको छ,” एक स्थानीय बासिन्दाले भने, “तर कस्को योजना हो, कुन शीर्षकअन्तर्गत काम भइरहेको हो, बजेट कति हो, र काम कहिले सुरु भएर कहिलेसम्म सम्पन्न हुने हो भन्ने कुनै जानकारी छैन।”

यस कार्यको जिम्मा कञ्चनरुप नगरपालिकाले लिएको हो कि प्रदेश सरकारको योजना अन्तर्गत हो भन्ने कुरा समेत स्पष्ट छैन। काम स्थलमा कुनै विवरण नराखिएकाले आम सर्वसाधारणलाई जानकारी प्राप्त गर्ने माध्यम समेत अवरुद्ध भएको छ।

यस विषयमा अरू एक स्थानीयले गुनासो गरे, “नाला निर्माण त भइरहेछ तर ठेकेदार कहिल्यै पनि स्पष्ट रुपमा प्रस्तुत हुँदैनन्, न कुनै प्राविधिक निरीक्षण देखिन्छ, न त स्थानीय सरोकारवाला निकायको उपस्थिति नै।”

साे प्राविधिक मापदण्ड अनुसार कुनै पनि सार्वजनिक निर्माण कार्य सुरु गर्नु अघि तथा कार्यान्वयनको दौरान योजनाको नाम, लागत, ठेकेदारको नाम, सुरु र सम्पन्न हुने मिति, सुपरिवेक्षण गर्ने निकाय आदि उल्लेख भएको विवरण बोर्ड अनिवार्यरूपमा राखिनुपर्ने कानुनी व्यवस्था  हुन्छ।

तर सो सडकमा निर्माणाधीन नालाको हकमा सबै प्रावधानको घोर उल्लङ्घन भइरहेको स्थानीयवासीहरूको आरोप छ। स्थानीयबासीले भने सुरेन्द्र साह भने ठेकेदार रहेकाे बताए ।

यस्ता कार्यहरूले सार्वजनिक निर्माण कार्यमा पारदर्शिता र जवाफदेहिताको अभाव स्पष्ट देखिएको भन्दै नागरिक समाज, स्थानीय प्रतिनिधिहरू र सरोकारवाला निकायहरूलाई यसतर्फ गम्भीर ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।
साे समयमै अनुगमन, मूल्यांकन तथा आवश्यक कदम नचालिए आगामी दिनहरूमा यस्ता निर्माण कार्यले दीर्घकालीन समस्याहरू निम्त्याउन सक्छन् भन्ने चिन्ता समेत व्यक्त गरिएको छ।
साे सार्वजनिक सम्पत्तिको निर्माण कार्य जनताको करबाट संकलित बजेटबाट भइरहेको हुँदा सो कार्यमा पूर्ण पारदर्शिता, जवाफदेहिता र स्थानीय सहभागिता अनिवार्य हुनुपर्छ। सरोकारवाला निकायहरू तथा स्थानीय प्रशासनले यस विषयमा चाँडोभन्दा चाँडो स्पष्टता ल्याई जनताको विश्वास कायम राख्न जरुरी छ।


प्रतिक्रिया दिनुहोस् ।