राजकुमार पासवान ।
जनकपुरधाम,१८ साउन। जनमत पार्टीका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतको सक्रियतामा पार्टीको संगठन निर्माण, विचार सुदृढीकरण र कार्यकर्ता प्रशिक्षण अभियानमा उल्लेखनीय गति आएको हाे।

हालै सम्पन्न राष्ट्रिय परिषद् सदस्य बैठक र प्रशिक्षण कार्यक्रममा डा. राउतले पार्टी कार्यकर्तालाई मूल विचार, सिद्धान्त र संस्कारमा दृढ रहन आग्रह गर्दै महत्वपूर्ण राजनीतिक सन्देश दिएका छन्। पछिल्लो समय पार्टीले विभिन्न जिल्लामा समन्वय बैठक र प्रशिक्षण कार्यक्रम तीव्र गतिमा सञ्चालन गरिरहेको हाे।
‘स्वराज’ जनमत पार्टीको मूल विचार
प्रशिक्षण कार्यक्रममा डा. राउतले जनमत पार्टीको मूलभूत विचार ‘स्वराज’ रहेको स्मरण गराउँदै भने,
“अरू पार्टीका संस्कार फरक छन्, तर जनमतका स्वराजीहरूले आफ्नो बाटो कहिल्यै बिर्सनु हुँदैन।”
उनले पार्टीको राजनीतिक यात्रा सुदृढ बनाउन विधान, संस्कार र सिद्धान्तमा आधारित संगठन निर्माण अपरिहार्य रहेको स्पष्ट पारे। साथै, जनताको हितका संकल्प पूरा गर्न पार्टीको नीति र दृष्टिकोणमा दृढ रहँदै अघि बढ्नुपर्नेमा जोड दिए।
१० लाख रोजगारी नारामात्र होइन, व्यवहारिक योजना: डा. जयकान्त राउत
जनमत पार्टीले १० लाख रोजगारी नारामात्र होइन, योजना हो । डा. राउतले जनमत पार्टीको प्रमुख अभियान “१० लाख रोजगारी” नारा मात्र नभई दीर्घकालीन व्यवहारिक योजना भएको बताए।
“जनताले एउटा सिट जिताएर १० लाख रोजगारी सुनिश्चित हुँदैन,” उनले भने, “अहिलेकै भ्रष्ट शासन प्रणाली सुधार्न राजनीतिक आन्दोलन अपरिहार्य छ।”
उनका अनुसार, चुनावमार्फत जनमत पार्टीलाई बलियो बनाउनु नै दीर्घकालीन संकल्प पूरा गर्ने प्रमुख बाटो हो। उनले कार्यकर्तालाई संगठनात्मक, वैचारिक र राजनीतिक रूपमा सशक्त र सचेत रहन आग्रह गरेकाे हाे ।
भदौ १ देखि ‘जनतासँग जनमत’ अभियान
बैठकको अन्त्यमा आगामी भदौ १ गतेदेखि सुरु हुने “जनतासँग जनमत” अभियानको घोषणा गरियो। यस अभियानअन्तर्गत पार्टीले गाउँ–गाउँ, बस्ती–बस्ती पुगेर आफ्ना नीति, एजेन्डा र दृष्टिकोण जनतासमक्ष पुर्याउनेछ।
बैठकमा सहभागी जिल्ला समन्वय समितिका प्रतिनिधिहरूले स्थानीय समस्या, अनुभव र सुझावहरू लिखित रूपमा प्रस्तुत गरेका थिए। डा. राउतका अनुसार यी सुझाव र तथ्यहरूले स्थानीय तहको अवस्था बुझ्न सहयोग पुग्नेछ र आगामी नीति निर्माण अझ वैज्ञानिक र जनउत्तरदायी हुनेछ।
सङ्गठन सुदृढीकरणमार्फत विकल्पको राजनीतिमा अघि बढ्दै जनमत
संगठन निर्माण, प्रशिक्षण र जनसम्पर्क अभियानले जनमत पार्टीलाई विकल्पको राजनीतिमा स्थापित गर्ने संकेत दिएको छ। कार्यकर्ताको सशक्तिकरणसँगै पार्टीले अब आगामी चुनाव र राजनीतिक यात्रामा बलियो उपस्थिति जनाउने विश्वास लिइएको छ।
