राजकुमार पासवान ।
फतेपुर(सप्तरी),२९ वैशाख । मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री राजकुमार लेखीले गौतम बुद्धले देखाएको शान्ति र सदाचारको मार्गमा हिँड्न सबैलाई आग्रह गर्नुभएको हाे ।

साेमबार सप्तकोशी नगरपालिका वडा नं.२ मा थारु संस्कृति संरक्षण संघको आयोजनामा २५६९औं बुद्ध जयन्तीको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री लेखीले समाजमा बढ्दो लागू पदार्थ दुर्व्यसनप्रति चिन्ता व्यक्त गर्दै युवाहरूलाई बुद्धको मार्गमा अग्रसर हुनुपर्ने बताउनु भएको हाे ।
“आजका धेरैजसो युवा कुलतमा फसेका छन्, उनीहरूलाई सही बाटोमा ल्याउनु हाम्रो कर्तव्य हो,” मन्त्री लेखीले भन्नु भएको हाे ।
उहाँले वर्तमान तीन तहको सरकार प्रणालीको उल्लेख गर्दै गाउँगाउँमा विकासको लहर आएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “अहिले एउटै वडामा ३ देखि ७ वटा योजनाहरू सञ्चालनमा छन्, जुन लोकतन्त्रकै उपलब्धि हो।”
साे कार्यक्रममा लोकतन्त्रको पक्षमा जोड दिँदै उहाँले महिला, दलित, आदिवासी र पिछडिएका वर्गहरूको सहभागिता सुनिश्चित भएको बताउनु भएको हाे ।
साे बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा विभिन्न जातजातिहरूले सांस्कृतिक झाँकी, नाचगान तथा परम्परागत प्रस्तुति देखाएका थिए। गृहमन्त्री लेखीले उत्कृष्ट प्रस्तुति गर्ने झाँकी टोलीलाई नगद पुरस्कारसहित बधाई दिँदै ताली बजाएर प्रोत्साहित गर्नुभएको हाे ।
साे समारोह थारु संस्कृति संरक्षण संघका केन्द्रिय अध्यक्ष गयानन्द चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रमको सञ्चालन केन्द्रिय महासचिव किशोर कुमार लेखीले गर्नुभएको हाे ।
साे कार्यक्रममा सप्तकोशी नगरपालिकाका मेयर कृष्ण ढकाल, पूर्व मेयर उत्तम गौतम, वडा नं. २ का अध्यक्ष जाहिर हुसेन, वडा नं. ४ का अध्यक्ष जयराम खंगसहित अन्य वडा अध्यक्षहरू तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।