अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर(सप्तरी)२२ जेष्ठ । सप्तकोशी नदीमा अभ्यासकाे क्रममा डुबेर बेपत्ता भएका दुई सशस्त्र प्रहरी जवानको खोजतलाश गर्दा अर्को एक अज्ञात व्यक्तिको शव फेला परेको हाे।
आज मधेश प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट खटिएको उद्धार टोलीले बाढीपहिरोको समयलाई मध्यनजर गर्दै अभ्यास गरिरहेको बेला सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी नदीमा बेपत्ता भएका थिए।
उनीहरूलाई खोज्ने क्रममा बिहीबार एक अज्ञात शव फेला परेको हो।
साे घटनास्थलमा पुगेका सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार शव कसको हो भन्ने यकिन भइसकेको छैन। “पहिचान खुल्न बाँकी छ, तर प्रारम्भिक रूपमा उक्त शव बेपत्ता दुई जना प्रहरीमध्ये कसैको नभएको देखिन्छ,” उनले बताए।
बेपत्ता जवानहरूको खोजीका लागि सप्तरी र सुनसरी जिल्लाबाट थप प्रहरी जनशक्ति परिचालन गरिएको छ। खोजी कार्य तीव्र गतिमा जारी रहेको र गोताखोर टोलीलाई थप सहयोग पुर्याउन स्थानीय प्रशासन पनि सक्रिय रहेको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए।
सप्तकोशी नदीमा बढ्दो पानीको सतह र तीव्र बहावका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको भए पनि सुरक्षाकर्मीहरू दिनरात नभनी परिचालित छन्।
उक्त घटनाले सुरक्षाकर्मीहरूको तालिम अभ्यास पनि उच्च जोखिममा हुने संकेत दिएको छ भने अज्ञात शव फेला परेपछि घटनाले नयाँ मोड लिएको छ।