अपूर्व न्यूज समाचारदाता
कञ्चनपुर (सप्तरी), ३१ बैशाख । कञ्चनरुप नगरपालिका वडा नम्बर २ मा निर्माण हुन लागेको कञ्चनरूप नगरपालिका २ नं. वडाकाे कार्यालय भवन एक भव्य कार्यक्रमबीच औपचारिक शिलान्यास बुधबार सम्पन्न भएको हो ।

सो कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ता, वडा अध्यक्ष मेहदी हुसेन, वडा सदस्यहरू, पूर्व सांसद सरिता गिरी यादव, जग्गादाता समाजसेवी श्यामसुन्दर प्रसाद गुप्ता, जग्गादाताका परिवारका सदस्यहरू, विभिन्न राजनीतिक दलका स्थानीय नेताहरू, समाजका अगुवा भरभलादमी र वडावासीहरूको विशेष उपस्थितिमा भवनको शिलान्यास सम्पन्न गरिएको हो ।
साे कार्यक्रममा भवन बन्ने स्थानमा एक कठ्ठा दुई धुर जग्गा निशुल्क दान गर्ने समाजसेवी गुप्ताको योगदानको खुलेर प्रशंसा गरिएको हो । जग्गादाताका परिवारका तर्फबाट शिलान्यास जग्गादाताका भाइ बुहारी श्रीमती रीना देवी गुप्ताको करकमलबाट गरिएको हो ।
नगर प्रमुख गुप्ताले आफ्नो लामो समयको प्रयास र स्थानीय जनताको निरन्तर मागपछि वडा नं. २ को स्थायी कार्यालय भवन बन्ने सुनिश्चितता भएकोमा खुसी व्यक्त गरे ।
नगर प्रमुख गुप्ताले भने, “यो भवन वडा नम्बर २ को प्रशासनिक सुदृढीकरणको दिशामा महत्त्वपूर्ण पाइला हो । हामी जनताको सेवा अझ प्रभावकारी बनाउन प्रयत्नशील रहनेछौं।”
त्यस्तै कञ्चनरुप नगरपालिका वडा नं.२ का वडा अध्यक्ष मेहदी हुसेनले भवन निर्माणले स्थानीय बासिन्दालाई सरकारी सेवा पाउन सहज हुने उल्लेख गरे । उक्त जग्गादाता श्यामसुन्दर प्रसाद गुप्ता र उनका छोरा इन्जिनियर संजय प्रसाद गुप्तालाई नगरपालिकातर्फबाट सार्वजनिक रूपमा आभार व्यक्त गरिएको हो ।
साे कञ्चनरुप नगरपालिका २ नं. वडा कार्यालय भवन निर्माणका लागि मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटबाट २५ लाख रुपैयाँको बजेट छुटियाएकाे हो ।
साे भवन कार्यक्रममा सहभागी पूर्व सांसद सरिता गिरीले समाजसेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै जग्गादान गर्नेलाई बधाई दिँदै भनिन्, “सामुदायिक विकासका लागि यस्ता सहयोग उदाहरणीय छन् ।”