पोखरा, १६ माघ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी ३३औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा सूचना प्रविधि महोत्सव मधेस प्रदेशको सांस्कृतिक एवं पर्यटन प्रवद्र्धनका लागि विशेष आकर्षण बनेको छ । महोत्सवमा मधेस प्रदेशको ‘घुमौँ मधेसः बुझौँ मधेस’ अभियानअन्तर्गत मधेसको संस्कृति, धार्मिक स्थल, पर्यटकीय सम्भावना, र मौलिक खानाका परिकारहरूलाई विशेष रूपमा प्रस्तुत गरिएको छ ।
मधेसको कला, संस्कृति, र आतिथ्यताको झल्को
महोत्सवको उद्घाटन मिथिलाको परम्परागत झिझिया नाचबाट गरिएको थियो, जसले पोखरावासीलाई मधेसको कला–संस्कृतिप्रति आकर्षित गर्यो। साथै, थारू र भोजपुरी नृत्य प्रस्तुत गर्दा स्थानीय दर्शकहरूको ठूलो सहभागिता देखियो ।
मधेस प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले राखेको ‘घुमौँ मधेसः बुझौँ मधेस’ कक्ष महोत्सवको प्रमुख आकर्षण बनेको छ।
मधेसको धार्मिक, सांस्कृतिक, र पर्यटकीय सम्पदाबारे जानकारी लिनका लागि हरेक दिन झण्डै पाँच सय सहभागीहरू उक्त कक्षमा आउन थालेका छन्।
कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लाई मधेस प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यबारे जानकारी गराउने सचित्र पुस्तिका हस्तान्तरण गरिएको थियो। पुस्तिकामा जनकपुरको जानकी मन्दिर, कोशी टप्पु वन्यजन्तु आरक्ष, गढीमाई मन्दिर, धनुषाधाम, सिम्रौनगढ, र पर्सा राष्ट्रिय निकुञ्ज लगायतका प्रमुख गन्तव्यबारे विस्तृत विवरण समेटिएको छ।
मधेसका मौलिक परिकारहरूको लोकप्रियता
मधेस प्रवद्र्धन कक्षसँगै राखिएको मौलिक परिकार कक्ष पनि महोत्सवमा निकै लोकप्रिय बनेको छ।
यहाँ मधेसका चर्चित परिकार रौतहटको कटिया (माटोको घैँटोमा पकाइने खसीको मासु) र सप्तरीको बरमझियाको पेडा उपलब्ध गराइएको छ।
यी परिकारहरू स्वादिष्ट मात्र नभई मधेसको पहिचान झल्काउने महत्वपूर्ण सांस्कृतिक सम्पदा पनि हुन् ।
सो महोत्सवमा देशका विभिन्न प्रदेशका कक्षहरू समेत राखिएको छ। कुल २५० कक्षहरूमध्ये मधेस प्रदेशका दुई, सुदूरपश्चिम प्रदेशको एक, कोशी प्रदेशका तीन, र बागमती प्रदेशका पाँच कक्ष रहेका छन्। यी कक्षहरूमा सम्बन्धित प्रदेशका मौलिक उत्पादनहरू प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन्।
सो महोत्सवमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की का अनुसार महोत्सवलाई पोखराको मात्र नभई सम्पूर्ण नेपालका संस्कृति, पर्यटन, र व्यापारिक गतिविधि बुझ्ने थलोका रूपमा विकास गर्ने उद्देश्य राखिएको छ। महोत्सव माघ १९ गते समापन हुनेछ ।
उक्त महोत्सवमा पोखरामा आयोजना गरिएको औद्योगिक व्यापार मेला मधेस प्रदेशको सांस्कृतिक सम्पदा, पर्यटन प्रवद्र्धन, र मौलिक परिकारको प्रचार–प्रसारका लागि प्रभावकारी मंच बनेको छ। यस्तो कार्यक्रमहरूले देशका विभिन्न क्षेत्रबीच सांस्कृतिक आदान–प्रदानलाई प्रोत्साहित गर्दै राष्ट्रिय एकता मजबुत पार्न महत्वपूर्ण योगदान दिन सक्छन् ।
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...