मनिका विश्वकर्मा
काठमाण्डौं,११ असोज । डेढ वर्षअघि महोत्तरीका ६० वर्षीय पुरुषले ,प्ले(ब्याकु)चौतारी नाटक० मा नागरिकता प्रमाणपत्रका लागि आफूले १३ वर्षदेखि गर्नुपरेको संघर्षको कथा सुनाए। प्ले(ब्याक अनलाइनमार्फत चलेको थियो।
नागरिकता नपाएकै कारण उनका छोराछोरी बेरोजगार थिए। कथा भन्दै गर्दा उनका आँखा रसाए। स्वर निस्तेज थियो।
घटना विवरण सुनिरहेकी रंगकर्मी तथा निर्देशक सरिता साहको दिमागमा प्रश्न उठ्यो– नेपाली नागरिक भएर पनि नागरिकता प्रमाणपत्र पाउन किन यत्रो सकस?

नागरिकता पाउन नसकेका नेपालीसँग पहिलोपटक साक्षात्कार भएकाले पनि सरितालाई यो विषय नौलो र महत्त्वपूर्ण लागेको थियो। नागरिकता नपाउनु कति ठूलो अन्याय हो भन्ने प्रश्न सरोकारवालासम्म पुग्नुपर्छ भन्ने उनलाई लाग्यो। यसका लागि उनले नाटकलाई नै माध्यम बनाइन्।
प्ले-ब्याक नाटकको कार्यशालामा दर्शकले आफ्नो अनुभव सुनाउने र निर्देशकले सुनेर लेख्नुपर्ने थियो। नागरिकताबिहीन ती पुरुषको अनुभव सुनेपछि सरिताले त्यस विषयमा अध्ययन–अनुसन्धान थालिन्। अनुभवलाई नाटकमा ढाल्न मधेसी समुदायका अन्य घटना अवलोकन गरिन्।
अनि बनाइन् नाटक ‘ढकियामे नागरिकता’।
‘मैले नाटकमा कुनै समुदायलाई गाली गरेर कथा लेख्नु थिएन। तराईमा बस्ने मधेसी समुदाय नेपाली होइन, भारतबाट आएको हो भन्ने बुझाइ भत्काउनु थियो,’ उनले भनिन्।
नाटक तयार भयो। दर्शकले नरूचाउने हुन् कि, मधेसको यो कथा स्वीकार नगर्ने हुन् कि भन्ने डर उनलाई थियो।
‘तर दर्शकहरूले नाटक रूचाउनुभयो, परिणाम सकारात्मक आयो,’ उनले भनिन्।
सरिता महोत्तरीको टिम्किया गाउँमा जन्मेकी हुन्। उनका अनुसार त्यो त्यस्तो गाउँ थियो जहाँ छोरी जन्मिँदा अभिभावक र गाउँलेहरू नाक खुम्च्याउँथे। छोरीले साइकल चलाउनु ठूलो अपराध ठानिन्थ्यो।
‘हाम्रो गाउँमा छोरीले नाचगान गर्नु ठूलो अपराधजस्तै थियो। घरभित्रको काम गर्नुपर्छ, बाहिर हिँड्डुल गर्नु हुन्न भन्ने मानसिकता थियो,’ उनले भनिन्।
उनका अभिभावकले छोराको जन्म कुरेका थिए। त्यही समयमा भएको सरिताको जन्म सुखद खबर हुने कुरै भएन। आफन्तहरू पनि निराश भए। तर आमाबुबाले छोरी भनेर भेदभाव नगरेको उनी बताउँछिन्। पढ्न नपाएका उनका आमाबुबा छोरीलाई स्कुल पठाउन दृढ थिए।
गाउँमा बिजुली पुगेको थिएन। रातमा टुकीको सहारामा पढेको सरिता भर्खरै जस्तो लाग्छ।

‘घरमा आमाबाबाले छोरी भनेर विभेद गर्नुभएन। बरू नातेदारहरूले गरे। सानो छँदा पनि म नातेदारहरूले गरेको विभेद महसुस गर्थेँ,’ उनले सुनाइन्।
समाजमा छोरीले यो गर्नु हुन्न र ऊ गर्नु हुन्न भनेर अनेक बन्देज थिए। सरिता यस्तो बन्देज मान्न तयार थिइनन्। घरबाट पनि सानोतिनो अवरोध हुन्थ्यो। आखिर उनका आमाबुबा पनि त त्यही समाजका थिए!
उनलाई भने छोरीले गर्नु नहुने भनेकै काम गर्न मन लाग्थ्यो। आफ्नो सपनाको पखेटा फिँजाएर उड्न चाहन्थिन्। छोरीलाई फिल्म हेर्न जाने छुट थिएन, सरिताका दिदीबहिनी मिलेर सुटुक्क फिल्म हेर्न जान्थे। यस्तो कुरामा कतिपटक आमाको कुटाइ खाएको पनि उनले बताइन्।
‘घरमा किराना पसल थियो। चुरोटको बट्टासँग साटेर म फिल्मको चक्का ल्याउँथेँ,’ सरिताले भनिन्, ‘आफूलाई मनलागेको फिल्म हेरेर प्यास मेट्थेँ।’
उनी हेरेका फिल्मका पात्रको नक्कल पनि गर्थिन्। खासगरी खेतमा काम गर्दाको समय यस्तो नक्कलमा उपयोग हुन्थ्यो।
स्कुलमा प्रायः सांस्कृतिक कार्यक्रम आयोजना भइरहन्थ्यो। छात्राले गीत गाउने र आरती गर्ने अवसर पाउँथे। कविता सुनाउन पनि पाउँथे। सरिता भने नाटकमा अभिनय गर्न चाहन्थिन्। उनका अनुसार स्कुलमा केटीले नाच्न र नाटकमा भाग लिन छुट थिएन। स्कुलमा गीत गाएको र कविता सुनाएको कुरा घरमा थाहा भए पनि गाली खान बेर लाग्दैनथ्यो।
सरिताले आफ्नो समयको कुरा सुनाइन्, ‘त्यति बेला छोरीमान्छे खुलेर बोल्न सक्दैन थियौं। हाँस्न पनि सोच्नुपर्थ्यो। नाटक त परको कुरा। हुटहुटी धेरै भए पनि गर्न पाइनँ।’
केटासँग बोल्न पनि हुन्न भन्ने सोचले भरिएको गाउँमा सरिता आफूलाई पिँजडामा थुनिएको चराजस्तो अनुभव गर्थिन्। उनलाई त्यो पिँजडाबाट फुत्किन थियो। आफूलाई मनलागेको गर्न पाउनुपर्छ भन्ने लाग्थ्यो उनलाई। आफूमाथिको अन्याय सहने बानी थिएन।
‘स्कुल जाँदा बाटोमा केटाहरूले जिस्क्याउँथे। म त चुप लागेर बस्दिनथेँ। तिनलाई कुटेर हिँड्थेँ,’ उनले आफ्नो स्वभावबारे सुनाइन्।
यही हठी स्वभावका कारण उनले सानैमा हुन लागेको आफ्नो बिहे पनि रोक्न सकिन्। उनी छ कक्षामा पढ्दै थिइन्। एक जना नातेदारले उनको बिहेको प्रस्ताव ल्याए। सरिता माहिली छोरी, उनकी दिदीको पनि बिहेको कुरा चल्दै थियो। दिदीबहिनीको बिहे एकैपटक गर्दा आर्थिक भार कम हुन्छ भन्ने कुरा आयो। सरिता मानिनन्। उनले एसएलसी नदिई बिहे गर्दिनँ भनेर ढिपी कसिन्। क्रोध पनि देखाइन्।
रिसमै भनिदिइन्, ‘अहिले नै मेरो बिहे गर्दिने हो भने बरू मरिदिन्छु।’ यति भनेपछि आमाबुबाले माने। उनकी दिदीको मात्र बिहे भयो।
सरिताको एसएलसी सकिएपछि फेरि बिहेको प्रस्ताव आयो। उनले फेरि बाह्र कक्षा सकेपछि गर्छु भनेर ढिपी कसिन्। उनको ढिपीका सामु बिहेको प्रस्ताव फेरि परास्त भयो।
एसएलसीपछि पढ्न जनकपुरधाम जानुपर्थ्यो। साथीको सहयोगमा गइन्। उनैसँग मिलेर भाडाको कोठामा बसिन्। घरबाट खर्च नपाउने होइन तर नियमित हुन अलिक कठिन थियो। सरिताले पढाइसँगै एउटा रेडियोमा काम थालिन्।
उनले रेडियोमा नाटक पनि गरिन्। अभिनय गर्ने बाल्यकालको धोको रेडियो नाटक गरेर केही हदसम्म पूरा हुँदै थियो। बढ्दो उमेर, पढाइ र बजारको महँगीसँगै उनको खर्च बढ्दै गयो। रेडियोले दिने तलबले धानेन। अनि सरिता ‘शान्ति नेपाल’ नामको संस्थामा जोडिइन्। रेडियोको काम छाडिनन्, समय आधा घटाइन्।

जनकपुरमा सरिताको पढाइ र काम राम्रै चल्दै थियो। एक दिन कलाकार रवीन्द्र झाले एउटा रेडियो नाटक गर्ने प्रोजेक्ट पाएको बताए। झा उक्त प्रोजेक्टका लेखक थिए। नाटक गर्ने कलाकार खोज्दै थिए। यसै बेला सरितासँग भेट भएको थियो। रवीन्द्र र सरिता मिलेर काम गरे।
काठमाडौंको शिल्पी थिएटरका निर्देशक घिमिरे युवराज मैथिली भाषी कलाकारको खोजीमा थिए। उनले रवीन्द्रलाई काठमाडौं बोलाए। रवीन्द्रले सरितालाई पनि काठमाडौं लैजाने विचार गरे। कुरा राम्रो थियो तर सरिताले रेडियो नाटक मात्रै गरेकी थिइन्। दर्शकसामु अभिनय गर्नु उनका लागि ठूलो हाँक थियो।
नले त्यो बेलाको द्विविधा सुनाइन्, ‘रेडियो नाटक गर्दा कसैले देख्दैनथे। सडक नाटक गर्दा वरपरका मान्छेले देखेर नराम्रो सोच्लान् कि भन्ने डर थियो। म अलमलमा परेँ।’
रवीन्द्रले सम्झाए, आँट दिए। सरिता सहमत भइन्। काठमाडौंमा नयाँ साथीहरूसँग घुलमिल हुँदै काम सिक्दै गइन्। रवीन्द्रले सरिता राम्रो कलाकार हुन् भनेर शिल्पीमा चिनाएका थिए। उनलाई सही सावित गर्ने गरी मेहनत गर्नु थियो।
सरिताले गरेको पहिलो नाटक थियो ‘नारी’। पन्ध्र दिनको कार्यशालापछि मार्टिन चौतारीमा मञ्चन पनि भयो। नाटक महिलामाथि हुने हिंसाको विषयमा थियो। त्यही नाटक विभिन्न जिल्लामा सडकमा देखाउनुपर्ने थियो। निर्देशकले नाटकको सार र उद्देश्य मात्र बताउँथे। रंगकर्मी स्वयंले संवाद तयार पार्नुपर्थ्यो। यस्तो काम कम चुनौतीको थिएन।
त्यो समय सम्झिँदै सरिताले भनिन्, ‘धेरै मेहनत गरेपछि बल्ल छानिएँ। नाटक गर्न पाउने भएपछि खुसी भएँ।’
सरिता ‘सासू’ को भूमिकामा थिइन्। दाइजो नल्याएको निहुँमा बुहारीलाई गाली गर्नुपर्थ्यो। जमेर गाली गर्थिन्।
उनले सडक नाटकको अनुभव सुनाइन्, ‘कतिपय दर्शक त नाटक गरेको भन्ने बुझ्दैनथे। साँच्चै होला भन्ने ठानेर मलाई गाली गर्थे। कोही त कुट्न पनि अघि सर्थे।’
केही दिन नाटक गरेर सरिता जनकपुर फर्किन्। पढाइ र रेडियोको काममा लागिन्। केही समयपछि शिल्पी थिएटरले फेरि काठमाडौं बोलायो। उनले पहिलो स्टेज नाटकका रूपमा कुमार नगरकोटीको ‘कोमा अ पोलिटिकल सेक्स’ मा अभिनय गरिन्। ‘ग्रिस्मिला’ पात्रको भूमिकामा देखिएकी उनको बोल्ने शैली सुरूमा कतिपय दर्शकले मन पराएनन्।
केही नरमाइलो लागे पनि यसबाट उनले शिक्षा लिइन्। दर्शकको भावना थाहा पाइन्। उनले भनिन्, ‘दर्शकबाट शिक्षा लिएर उत्कृष्ट अभिनय गर्न धेरै मेहनत गरेँ।’
सरिताले शिल्पी थिएटरमा अभिनयको कक्षा पनि लिइन्। यही क्रममा आफ्नो कमजोरी थाहा पाइन्। आफूलाई सुधार्दै अघि बढिन्। सरिताले चार वर्षमा शिल्पी थिएटर बिताइन्। त्यसबीच ‘हारजित’, ‘समाजको नाइके’, ‘लीला’ लगायतका केही नाटकमा अभिनय गरिन्।
शिल्पी थिएटर छाडेपछि सरिता केही सकसमा परिन्। समय अलमलमा बित्दै थियो। एक साथीको सहयोगमा सिर्जना सुब्बाले निर्देशन गरेको ‘युमा’ नाटकमा अभिनय गर्न पुगिन्। युमा नाटक गरिसक्दासम्म सरिताको आत्मबल निकै बलियो भयो। उनले नयनराज पाण्डेको उपन्यास ‘लु’ लाई नाटकमा परिणत गरिन्।
यतिन्जेल सरिता अभिनय गर्ने कलाकार मात्र थिइन्। समयले उनलाई ‘लु’ नाटकको निर्देशक बनायो। ‘शिल्पीमा हुँदा कुनै दिन नाटक निर्देशन गर्नेछु भन्ने सोचेकी थिएँ तर निर्देशनको आइडिया थिएन,’ उनले आफ्नो अनुभव सुनाइन्, ‘निकै मेहनत गरेँ। लेखकको अनुमति लिएर नाटक बनाएँ, आफैं निर्देशन गरेँ।’
लु लगातार २५ दिन मञ्चन भयो। सरिताले सकारात्मक प्रतिक्रिया पाइन्। उनमा अर्को नाटक निर्देशन गर्ने ऊर्जा भरियो। शहीद दुर्गानन्द झाको जीवनमाथिको नाटक ‘काशीदेवी’ निर्देशन गरिन्।
‘आफैं काशीदेवी पात्र बनेर अभिनय गरेकी थिएँ। यो नाटक धेरै राजनीतिक नेताहरूले पनि हेरे। राम्रो प्रतिक्रिया पाएँ,’ उनले भनिन्।
कर्मरेखाले डोहोर्याउँदै सरितालाई ‘एन्टेना फाउन्डेसन’ मा पुर्यायो। नाटक निर्माताको रूपमा काम गरिन्। कथा लेख्ने मौका पाइन्। सत्य घटनामा आधारित रहेर छोटो फिल्म ‘फगुनिया’ बनाइन्। यसका लागि उनले फेलोसिप पाएकी थिइन्। सबै छायांकन तराईमा गरिन्।
उनका अनुसार सत्रवटा कथा अन्तिममा पुगेका थिए। पहिलो उनकै कथा भयो। फिल्म बनाउने खर्च पाएपछि सुटिङ सुरू भयो।
‘यो फिल्मबाट तीनवटा अवार्ड पाएँ,’ सरिताले भनिन्, ‘अहिले युट्युबमा पनि हेर्न पाइन्छ।’
त्यसपछि उनले अलिक लामो फड्को मार्ने विचार गरिन्। फिल्म खेल्ने लक्ष्य राखेर मुम्बई गइन्। लामै समय बस्ने र फिल्म खेलेरै छाड्ने योजना थियो। समयले उल्टो गति लियो। कोरोना महामारी फैलियो। फिल्म खेल्ने सपना त्यागेर स्वदेश फर्किन्।
नाटक घरहरू बन्द थिए। चारैतिर ठप्प। घर गएर छ महिना चुपचाप बसिन्। केही पुस्तक पढिन्। कोरोना मत्थर भयो।
लगत्तै उनले ‘अनागत’ फिल्ममा अभिनयको मौका पाइन्। यो फिल्म प्रदर्शन हुन बाँकी छ। सरिताको फिल्ममा यो पहिलो अनुभव भने होइन। उनले ‘लुट २’ र ‘चक्कर’ मा पनि अभिनय गरेकी छन्। अनागतलगत्तै उनले छोटो फिल्म ‘सामान’ मा अभिनय गरिन्। केही हिन्दी छोटा फिल्महरूमा पनि अभिनय गरेकी छन्। उनका अनुसार उनको अभिनयका दुइटा हिन्दी सर्ट फिल्म रिलिज हुन बाँकी छन्।
नाटक हुँदै फिल्ममा पुग्दासम्ममा सरिता आफ्नो बाल्यकालदेखिको सपना पूरा गर्दैछिन्। पिँजडाबाट निस्केर पखेटा फिँजाउँदै माथि उड्ने प्रयासमा छिन्। यो यात्रामा धेरै मीठा पल अनुभव गरिन्। सँगै केही तीता अनुभव पनि सँगालेकी छन्।
मधेसी भएकाले मधेसीकै भूमिकामा अभिनय गराउने प्रवृत्ति उनलाई मन पर्दैन। कहिलेकाहीँ उनको बोलीको शैली पनि कसैका लागि हाँसोको विषय बन्ने गरेको छ।
‘कहिलेकाहीँ लाग्छ मेरो अभिनय मधेसी पात्रमा मात्र सीमित छ। म मधेसी हुँदैमा मैले त्यसैअनुसार मात्र बोल्नुपर्ने हो?’ प्रश्न गर्दै उनले भनिन्, ‘मेरो क्षमता मधेसी हुनु मात्रै हो र भन्ने प्रश्नले मलाई आकुलव्याकुल बनाउँछ।’
सरिता निर्देशनतिर लाग्नुमा यिनै प्रश्नहरू पनि कारक हुन्। ‘ढकियामे नागरिकता’ को निर्देशक सरिता नै हुन्। अहिले उनी आफ्नै ‘सरिता फाउन्डेसन’ पनि चलाउँछिन्। ‘आश्मा नेपाल’ सँग मिलेर छोटो फिल्म ‘नोटबुक’ निर्देशन गरेकी छन्। आफ्नो गाउँमा पनि कहिलेकाहीँ नाटक देखाउँछिन्।
‘आमा पितृसत्तात्मक समुदायमा हुर्किनुभयो। छोरीप्रति उहाँको धारणा पुरानै थियो। अहिले छोरीले पनि सबै काम गर्न सक्छन् भन्ने विश्वास गर्नुहुन्छ,’ उनले भनिन्।
यो सबै उनको साहस र कदमले बदलेको सोच हो। आगामी दिनमा सरिता आफूले सुनेका–देखेका कथामा काम गर्न चाहन्छिन्। क्षमता भएर पनि जातीय र अनि वर्गीय कारणले पछि परेका कलाकारलाई अघि बढाउन चाहन्छिन्।
भन्छिन्, ‘पितृसत्तात्मक सोचले गाँजिएको समाज भत्काएर कथाहरूमार्फत मधेसी समुदायका छोरीको सपनामा उडान भर्नु मेरो लक्ष्य हो।’ साभार ः सेताेपाटी डटकम
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...