दिपेन्द्र पासवान ।
कुशहा(सप्तरी),२३ जेष्ठ । सप्तरीको सुरुङ्गा नगरपालिका–८, मल्हनमा टोलमा बिहीबार राति लुटेराको समूहले गोली प्रहार गर्दा एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएकाे हाे ।

स्थानीय समय अनुसार गएराति १२ बजे टोलीमा पसेको लुटेराहरुको समूहले घरमा धावा बोलेर लुटपाट सुरु गरेका थिए। लुटपाटको क्रममा प्रतिकार गर्दा उनीहरूले ५० वर्षीय कान्तलाल चौधरीमाथि गोली प्रहारकाट साे गाेलीबाट चौधरीको घटनास्थलमै मृत्यु भएको हो। उनलाई गोलीसँगै धारिलो हतियारबाट समेत प्रहार गरिएको जिल्ला प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।
साे घटनास्थलबाट प्रहरीले एउटा गोलीको खोखा र तीनवटा बाँचिएको गोली बरामद गरेको छ। “हामीले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरिसकेका छौं,” एसपी खतिवडाले भने।
साे लुटेराको आक्रमणमा मृतक कान्तलालका भाइ ४० वर्षीय रामाकान्त चौधरी समेत घाइते भएका छन्। लुटेरासँग भिड्ने क्रममा उनलाई धारिलो हतियार प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन्। गम्भीर घाइते रामाकान्तलाई उपचारका लागि लहानस्थित अस्पताल पठाइएको छ।
लुटेराले घरबाट झण्डै ६० हजार रुपैयाँ नगद, ५ तोला सुन, २ किलो चाँदीसहितका गरगहना र सरसमान लुटेका छन्। प्रहरीका अनुसार लुटपाट योजनाबद्ध ढंगले भएको देखिएको छ र दोषी पत्ता लगाउन अनुसन्धान तीव्र पारिएको हाे।