दिपेन्द्र पासवान
कुशहा(सप्तरी), २६ जेष्ठ । सप्तरीको सुरुङ्गा नगरपालिकामा पछिल्लो समय बढ्दै गइरहेका आपराधिक घटनाहरू नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय र नागरिक समाजबीच त्रिपक्षीय बैठक सम्पन्न भएको हो ।

आइतबार सुरुङ्गा नगरपालिका–४ स्थित कनकपुर आधारभूत विद्यालयको सभाहलमा भएको बैठकमा आपराधिक गतिविधिहरूको रोकथाम र सुरक्षा सुदृढीकरणसम्बन्धी महत्वपूर्ण छलफल गरिएको हो ।
बैठकमा सुरुङ्गा नगरपालिकाकी नगरप्रमुख गिता चौधरीले पछिल्ला केही दिनमा नगर क्षेत्रका विभिन्न स्थानमा घटेका आपराधिक घटनाहरूप्रति चिन्ता व्यक्त गर्दै, यस्तो प्रवृत्तिको नियन्त्रणका लागि सबै पक्षको सक्रिय भूमिकाको आवश्यकता औंल्याइन ्।
छलफलमा सहभागीहरूले नगर क्षेत्रमा लागुऔषधको दुरुपयोग र अवैध मदिराको खुला बिक्री–वितरणलाई आपराधिक क्रियाकलापको मुख्य कारण मानेर तत्काल नियन्त्रण गर्नुपर्ने आवश्यकता उल्लेख गरे। साथै प्रहरी र स्थानीय समुदायबीचको सहकार्यलाई मजबुत बनाउँदै चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव पनि बैठकमा आएको थियो।
सो बैठकमा सुरक्षाको सन्दर्भमा प्रमुख चोक र संवेदनशील स्थानहरूमा सिसी क्यामेरा जडान,रातिको समयमा प्रहरी गस्ती बढाउने,प्रत्येक टोलमा स्थानीय युवाको टोली परिचालन गर्ने,शंकास्पद व्यक्ति देख्नेबित्तिकै प्रहरीलाई खबर गर्ने,जस्ता ठोस उपायहरूको कार्यान्वयनमा जोड दिइएको हो ।
सप्तरीका प्रहरी प्रमुख (एसपी) ढकेन्द्र खतिवडाले घर–घरमा प्रहरी, नगरपालिका र अन्य आवश्यक सेवाहरूको स्थायी सम्पर्क नम्बरसहित स्टिकर टाँस्ने प्रस्ताव राख्दै आपराधिक घटनाहरूमा संलग्न अपराधीहरूलाई कारबाही प्रक्रिया तीव्र बनाइने प्रतिबद्धता जनाएको हो ।
उक्त इलाका प्रहरी कार्यालय कडरवोना प्रहरी निरीक्षक गजेन्द्र रायले सबै वडामा स्थानीय युवाको नेतृत्वमा सुरक्षा समिति गठन गरिने जानकारी दिएको हो । बैठकमा नगर उपप्रमुख रुद्रबहादुर कार्की, इलाका प्रहरी कार्यालय भेडियाका रंजन गिरी, मानव अधिकार तथा जनसरोकार समिति संयोजक दिलीप चौधरी, स्थानीय समाजसेवी, पत्रकार, बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियौं ।
सो बैठकमा सहभागी सबै पक्षले अपराधमुक्त सुरुङ्गा बनाउने संकल्प व्यक्त गर्दै आगामी दिनमा निरन्तर सहकार्य र निगरानी गर्ने प्रतिबद्धता जनाएका थिएको हो ।