अपूर्व न्यूज समाचारदाता ।
जनकपुरधाम, २२ जेष्ठ । सामाजिक सञ्जालको सदुपयोग गर्दै युवापुस्ताले देश र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने गृहमन्त्री राजकुमार लेखीले बताएकाे हाे ।

मधेस प्रदेश सरकारअन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा जनकपुरधाममा सुरु भएको ‘ट्राफिक जनचेतनामूलक साताव्यापी कार्यक्रम’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखीले सामाजिक सञ्जालमा अनावश्यक तथा भ्रामक सामग्री पोष्ट गर्नुको साटो सचेतनामूलक भिडियो, सन्देश तथा रचनात्मक सामग्रीहरू प्रस्तुत गर्न आग्रह गरेकाे हाे ।

“युवाहरूले सामाजिक संजालमा टिकटक र रिल बनाउँदा पनि यदि त्यो सामग्री चेतनामूलक भयो भने समाजमा सकारात्मक प्रभाव पार्न सक्छ,” मन्त्री लेखीले भने।
कार्यक्रममा गृहमन्त्री लेखीले सवारीसाधन प्रयोग गर्दा लापरवाही र ट्राफिक नियम उल्लंघनका कारण दिनहुँ हुने दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै युवाहरूलाई सचेत रहन आह्वान गरे। उनले थपे, “प्रायः हरेक युवासँग दुईपाङ्ग्रे सवारीसाधन छ, तर होसियारी बिना चलाउँदा ज्यानै जाने जोखिम रहन्छ।”
साे कार्यक्रमको प्रमुख अतिथि प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले पनि ट्राफिक नियमको पालनाबाट व्यक्तिगत र सामाजिक सुरक्षा सम्भव हुने बताए।
उनले सडकमा हिंड्दा सवारी साधनको स्थितिबारे अनुमान नगरी सतर्कता अपनाउन आग्रह गर्दै भने, “गाडी रोकिन्छ भन्ने सोचले दुर्घटना निम्तन सक्छ।”
साे उद्घाटन कार्यक्रममा “Safe Drive, Long Life” भन्ने नारा सहित जनकपुरधामको रमानन्द चौकदेखि मिथिला सांस्कृतिक भवनसम्म प्रभातफेरी गरिएको थियो। सहभागीहरूले ट्राफिक सचेतनामूलक प्लेकार्ड बोकेका थिए भने, विभिन्न सांस्कृतिक प्रस्तुतीहरूद्वारा जनचेतना फैलाइएको थियो।
सो कार्यक्रममा प्रदेश सचिव बिमल प्रसाद बराल, नेपाली सेना, सशस्त्र प्रहरी, प्रदेश प्रहरी, राष्ट्रिय अनुसन्धान लगायत सुरक्षासंस्थाका उच्च अधिकारीहरूको उपस्थिति हाे।