अपूर्व न्यूज समाचारदाता ।
राजविराज, ०७ जेठ । मधेस प्रदेश आम सञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष जितेन्द्र खड्गाले पत्रकार र मिडियाका लागि राज्यबाट प्रदान गरिएका सुविधाहरूको अधिकतम उपयोग गर्न आग्रह गरेको हाे ।
बुधबार गृह जिल्ला सप्तरीको राजविराजमा पत्रकारहरूसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा उनले यस्तो आग्रह गरेको हो ।
सञ्चारकर्मीसँगको कुराकानीका क्रममा अध्यक्ष खड्गाले हाल उपलब्ध सुविधा सन्तोषजनक नभए पनि त्यसको समुचित उपयोग गरी मिडिया क्षेत्रमा सुधारको बाटो खोल्न सकिने धारणा राखे।
उनले भने, “निवर्तमान अध्यक्ष श्यामसुन्दर यादवले आफ्नो कार्यकालमा पत्रकारहरूको हकहितका लागि अनुकरणीय कार्यहरू गर्नुभयो, म उहाँका योजनाहरूलाई निरन्तरता दिँदै थप सेवा–सुविधा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।”
कार्यक्रममा उपस्थित वरिष्ठ पत्रकार शिव नारायण साह ‘सुरज’ले सञ्चारकर्मीहरूद्वारा व्यवस्था परिवर्तनका क्रममा पु¥याइएको योगदानलाई सत्ता र शक्तिमा पुगेपछि बिर्सिने प्रवृत्तिले पत्रकारिता कमजोर भएको गुनासो गरे। उनले भने, “स्थानीय मिडिया अहिले गम्भीर संकटको सामना गरिरहेको छ। विज्ञापनको नाममा रकम जिल्ला बाहिर गइरहेको छ। जबसम्म यो प्रवृत्ति अन्त्य हुँदैन, तबसम्म स्थानीय मिडिया र पत्रकारको अवस्था सुध्रन सक्दैन।”
पत्रकार साहले मिडियाको व्यावसायिक विकासका लागि स्थानीय तहहरूले स्थानीय सञ्चार माध्यमलाई प्राथमिकतामा राखी विज्ञापन वितरण गर्नुपर्नेमा जोड दिए।
उनले राज्य संयन्त्रले स्थानीय पत्रकारिता बलियो बनाउनेतर्फ गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
भेटघाट तथा परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्र तथा जिल्ला शाखाका पदाधिकारीहरू, पूर्व अध्यक्षहरू, विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरू लगायतको उपस्थिति थियो। सहभागीहरूले अध्यक्ष खड्गालाई बधाई दिँदै उनको कार्यकालमा मधेस प्रदेशको सञ्चार क्षेत्रमा सकारात्मक परिवर्तन हुने अपेक्षा व्यक्त गरेका थिए ।