अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर, ३१ बैशाख । सप्तरी प्रहरीको सक्रियता र विशेष टोलीको प्रयासले लामो समयदेखि फरार रहेका पाँच जना प्रतिवादीलाई मंगलबार पक्राउ गर्न सफल भएको हो ।
जिल्ला अदालत राजविराजबाट विभिन्न मुद्धामा सजाय पाएका ती प्रतिवादीहरूलाई प्रहरीले एकैपटक पक्राउ गरी कानूनको दायरामा ल्याएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूमा डाँका, जालसाजी लगायतका गम्भीर अभियोगमा सजाय भुक्तान नगरी फरार रहेका थिए ।

तीमध्ये डाँकाको मुद्धामा सजाय भोगिरहेका सप्तरीको महादेवा गाउँपालिका–६ का दिपक कुमार खङलाई ४ महिनाको कैद र ३ हजार रुपैयाँ जरिवानासहित तोकिएको हो । अन्य चार जना प्रतिवादीहरूमाथि जालसाजीको मुद्दामा अदालतबाट सजाय तोकिएको थियो ।
सो पक्राउ परेका अन्य प्रतिवादीहरूमा सप्तरी बोदेबरसाइन नगरपालिका वडा नं. २ बस्ने अमेरिका देवी यादव,अजय कुमार यादव,रामसुभक यादव र तेजनारायण यादवलाई दुई रुपैयाँ जरिवाना रहेको हो ।
उक्त प्रतिवादीहरूलाई हाल जिल्ला अदालत राजविराजमा पेश गरिएको छ र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार फरार प्रतिवादीको खोजी तथा पक्राउलाई प्राथमिकतामा राखिएको हो ।