img

राजविराजकाे औद्योगिक क्षेत्रस्थित महायज्ञस्थलमा आगलागी, मुख्य मण्डप जलेर नष्ट


अपूर्व न्युज समाचारदाता ।
मलेठ(सप्तरी),३० बैशाख । सप्तरीको रुपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा सञ्चालन गरिएको श्री सीताराम नाम १००८ मण्डलीय सकिर्तन एवं श्रीरामचरित्र मानस नौ दिवसीय महायज्ञ स्थलमा सोमबार साझ अचानक आगलागी भएको हाे। महायज्ञको समापनकै दिन भएको यस घटनाले श्रद्धालुहरूलाई स्तब्ध बनाएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार हवनका कार्यहरू जारी रहँदा एक्कासि आगलागी सुरु भएको हो।

आगोले महायज्ञका लागि निर्माण गरिएको मुख्य मण्डप पूर्ण रूपमा जलेर नष्ट भएको छ। मण्डपसँगै त्यहाँ रहेका लत्ताकपडा, हवन सामग्री लगायतका पूजासामग्री समेत खरानी भएका छन्।
घटनापछि राजविराज नगरपालिकाबाट आएको बारुण यन्त्र र उपस्थित सर्वसाधारणको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो। यस आगलागीले मानवीय क्षति भने नगरेको जनाइएको छ।

गत वैशाख २१ गतेदेखि सञ्चालनमा आएको महायज्ञ औद्योगिक क्षेत्रको जमिन शुद्धीकरण एवं धार्मिक चेतना अभिवृद्धिका लागि आयोजना गरिएको थियो।

पगला बाबा नेतृत्वको आयोजनामा देशभरबाट आएका श्रद्धालुहरूले सहभागिता जनाएका थिए।
महायज्ञमा एक हजार आठ मण्डपमा कीर्तन मण्डली, हनुमान आराधना, वृन्दावनको रासलीला, रामलीला, रामचरित्र मानस पाठ, उच्चकोटीका विद्वानद्वारा प्रवचन र विशाल भण्डारा जस्ता धार्मिक गतिविधिहरूको व्यापक व्यवस्था गरिएको थियो।
पगला बाबाका अनुसार यस प्रकारको भव्य महायज्ञ पहिलोपटक वि.सं. २०५६ मा धनुषामा आयोजना गरिएको थियो भने यो दोस्रो पटक सप्तरीमा आयोजना गरिएको हो।


प्रतिक्रिया दिनुहोस् ।