दिपेन्द्र पासवान
जनकपुर,२८ बैशाख । सिरहा जिल्लाको लहान नगरपालिका–१२ र २२ मा अवस्थित ऐतिहासिक, सांस्कृतिक, पौराणिक तथा धार्मिक महत्व बोकेको सलहेश फुलवारीको संरक्षणको माग गर्दै सलहेश फुलवारी संरक्षण संघर्ष समितिले मधेस प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

आइतबार समितिका संयोजक मोहन पासवानको नेतृत्वमा आइतबार बुझाइएको ज्ञापनपत्रमा सलहेश फुलवारी पासवान समुदायका पूर्वज तथा ईष्टदेवता लोकनायक सम्राट सलहेशसँग सम्बन्धित ऐतिहासिक स्थल भएको उल्लेख गरिएको छ।
साे ज्ञापनपत्रमा हालै प्रदेश सरकारअन्तर्गत वन तथा वातावरण मन्त्रालयको पहलमा सलहेश फुलवारी क्षेत्रमा अम्बेडकर पार्कको शिलान्यास गरिनु गलत सन्देश जाने कार्य भएको जनाइएको छ।
समितिले डा. भीमराव अम्बेडकरप्रति उच्च सम्मान व्यक्त गर्दै देशभर अम्बेडकर पार्कहरूको निर्माण स्वागतयोग्य भए पनि विशिष्ट धार्मिक तथा सांस्कृतिक स्थलमा यस्ता संरचना निर्माण गर्नु असान्दर्भिक र असंवेदनशील कदम भएको जनाएको छ।
समितिले ज्ञापनपत्रमार्फत निम्न मागहरू राखेको छ:
१.अम्बेडकर पार्कको निर्माण स्थल अन्यत्र सार्नुपर्ने,
२.सलहेश फुलवारी क्षेत्रलाई पूर्ण संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने,
३.सलहेशसँग सम्बन्धित सम्पूर्ण स्थलहरूलाई समेटेर सलहेश सांस्कृतिक सर्किट विकास गर्नुपर्ने,
४. लोकनायक सम्राट सलहेशलाई राष्ट्रिय विभूति घोषणा गरी युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्नुपर्ने।
संयोजक पासवानले सलहेश फुलवारी पासवान समुदायको मात्र नभई सम्पूर्ण मधेशको साझा सांस्कृतिक धरोहर भएको स्पष्ट पार्दै कुनै पनि किसिमको अतिक्रमण वा भावनात्मक हस्तक्षेप सह्य नहुने बताए। माग सुनुवाइ नभएमा सशक्त आन्दोलनमा जानुपर्ने चेतावनी समेत उनले दिएका छन्।