हनुमाननगर(सप्तरी) १२ फागुन । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साहले सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिकामा विभिन्न महत्वपूर्ण विकास परियोजनाको शिलान्यास गर्नुभएको हाे ।
साे मन्त्री साहको पहलमा सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिका–९ मा महावीर चोकस्थित भगवती स्थानदेखि हनुमान मन्दिरको गेटसम्मको सडक निर्माणका लागि भौतिक मन्त्रालयबाट १ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। सो सडक निर्माणले स्थानीय बासिन्दालाई सहज तथा सुरक्षित यातायात सेवा उपलब्ध गराउनुका साथै आर्थिक तथा सामाजिक विकासलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
त्यसैगरी हनुमाननगर कंकालिनी नगरपालिका–९ स्थित महावीर उच्च माध्यमिक विद्यालयमा थप सुविधासम्पन्न भवन निर्माणका लागि मन्त्री साहले शिलान्यास गर्नुभएको छ। विद्यालयका विद्यार्थीहरूको शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले १ करोड रुपैयाँको बजेट उपलब्ध गराइएको छ, जसले विद्यार्थीहरूको सिकाइलाई अझ प्रभावकारी बनाउन मद्दत पुर्याउने विश्वास गरिएको छ।
साे शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, विद्यालय प्रशासन, अभिभावक तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा मन्त्री साहले स्थानीय पूर्वाधार विकासलाई तीव्रता दिँदै आगामी दिनमा थप विकासका योजनाहरू अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले विकासका कार्यहरू दिगो र प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा पनि जोड दिनुभएको हाे ।