img

जनमत पार्टीको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ सप्तरीको कडा आपत्ति


अपूर्व न्यूज समाचारदाता ।
राजविराज, ११ फागुन । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको सचिवालय फेसबुक पेजमार्फत सप्तरी तथा मधेशका पत्रकारहरूलाई लक्षित गरी गरिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको हो ।

नेपाल पत्रकार महासंघ

महासंघले राउतको सचिवालय फेसबुक पेजमार्फत आएको अभिव्यक्ति सप्तरीको स्वतन्त्र पत्रकारितामाथि आँच आउने खालको भएको ठहर गर्दै यसको घोर विरोध गरेको हो ।
आइतबार महासंघका सचिव खगेन्द्र कार्कीद्वारा जारी विज्ञप्तिमा फागुन ८ गते विहीवार जनमत सचिवालय पेजबाट गरिएको “सप्तरीमा कुनै पनि रिपोर्टिङ गर्दा अन्य जिल्ला वा पहाड तिरको पत्रकार ल्याई निष्पक्ष रिपोर्टिङ गर्नु“ भन्ने अभिव्यक्तिले यहाँका पत्रकारहरूको निष्पक्षता माथि अनावश्यक प्रश्न उठाएको जनाइएको छ। महासंघले यस्तो प्रवृत्ति पत्रकारिता क्षेत्रलाई अपमान गर्ने कार्य भएको स्पष्ट गरेको छ।

महासंघले जनमत पार्टीले फागुन ७ गते मधेश कृषि विश्वविद्यालय शिलान्यासका क्रममा उत्पन्न विवाद र झडपबारे समाचार नलेखिएको भन्ने आरोप पूर्णरूपमा निराधार रहेको छ।

त्यस घटनाबारे विभिन्न पत्रपत्रिका, अनलाइन समाचार पोर्टल, तथा टेलिभिजनमा विस्तृत समाचार प्रकाशित भइसकेको तथ्य उल्लेख गर्दै महासंघले यस्तो भ्रामक प्रचार नगर्न आग्रह गरेको छ।
सप्तरी पत्रकारिताले गौरवमय इतिहास बोकेको र यहाँका पत्रकारहरू हरेक दल, जाति, धर्मसहित सबै क्षेत्रमा निष्ठापूर्वक कलम चलाइरहेको महासंघले स्पष्ट पारेको छ। महासंघले जनमत पार्टीको अभिव्यक्तिले सप्तरीको पत्रकारिता क्षेत्रको प्रतिष्ठामा आँच पु¥याउने कार्य गरेको भन्दै पार्टीलाई उक्त अभिव्यक्ति तुरुन्त फिर्ता लिन कडा चेतावनी दिएको छ।
नेपाल पत्रकार महासंघ, शाखा सप्तरीले भविष्यमा यस्ता पत्रकारविरोधी अभिव्यक्ति सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट प्रयोग नगर्न पार्टीलाई सचेत गराएको छ। साथै, सप्तरीका पत्रकारहरूको स्वतन्त्रता, निष्पक्षता र सम्मानको रक्षा गर्न महासंघ कुनै पनि हदसम्म जाने प्रतिबद्धता व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस् ।