img

पत्रकारिताको पेशागत मर्यादा र आचारसंहिताको पूर्णपालन गर्न आग्रह ः अध्यक्ष झा

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा

जनकपुरधाम, २७ पुस । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिताको पेशागत मर्यादा र आचारसंहिताको पूर्णपालनमा जोड दिनुभएको हो ।
शनिबार मिडिया काउन्सिल मधेस प्रदेशको सहयोगमामा राष्ट्रिय समाचार समिति मधेस प्रदेश कार्यालयको सहकार्यमा जनकपुरधाममा आयोजित “बदलिँदो परिवेशमा पत्रकारिताको दायित्व र राससको भूमिका“ विषयक दुईदिने तालिम समापन समारोहमा अध्यक्ष झाले व्यावसायिकता र जिम्मेवारीपूर्वक पत्रकारिता गर्नुपर्ने बताउनु भएको हो ।
अध्यक्ष झाले भने आचारसंहिताको उल्लङ्घनले सञ्चार क्षेत्रमा विकृति र विसङ्गति ल्याउने उल्लेख गर्दै राज्यप्रतिको दायित्व बिर्सन नहुनेमा जोड दिनुभयो। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापनामा सञ्चार क्षेत्रको योगदान उल्लेखनीय रहेको चर्चा गर्दै उहाँले लोकतन्त्रका उपलब्धिहरूको संरक्षणमा पत्रकारहरू सजग रहनुपर्ने धारणा राख्नुभएको हो ।

“बदलिँदो परिवेशमा पत्रकारिताको दायित्व र राससको भूमिका“ विषयक दुईदिने तालिमकाे समापन समारोहमा मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दास सान्दर्भिक विचार राख्दैं ।

मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासले मधेस प्रदेशमा पत्रकारहरूको क्षमता विकास र आचारसंहिताको पालनाका लागि निरन्तर काम गरिरहेको जानकारी दिँदै पत्रकारको वृत्तिविकास र समस्या समाधानमा सङ्घीय, प्रदेश, र स्थानीय सरकारको सहकार्य अपरिहार्य रहेको बताउनु भएको हो ।

समापन समारोहमा रासस मधेस प्रदेशका प्रमुख सुरेश झा, निमित्त प्रमुख समाचारदाता नारायण न्यौपाने, र अङ्ग्रेजी सम्पादक कृष्ण सापकोटाले राससका गतिविधि र कार्यप्रक्रियाबारे जानकारी गराउनुभयो।
तालिममा मधेस प्रदेशअन्तर्गत राससका ३० जना पत्रकार र कर्मचारी सहभागी थिए। तालिमपछि सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको हो ।

 


प्रतिक्रिया दिनुहोस् ।