अपुर्व न्यूज समाचारदाता ।
काठमाडौं,२ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) को विजेतालाई १ करोड १० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ।

मंगलबार नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक रूपमा पुरस्कार राशिको घोषणा गर्दै लिगका उत्कृष्ट चार टिमको प्लेअफ यात्रा सुनिश्चित भएको जनाएको छ।
क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिअनुसार उपविजेता टिमले ५१ लाख रुपैयाँ, तेस्रो स्थानमा रहने टिमले २५ लाख रुपैयाँ र चौथो स्थानमा आउने टिमले १५ लाख रुपैयाँ पाउने छन्।
एनपीएलको प्लेअफ चरणमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्सले स्थान बनाइसकेका छन्।
लिगको खेल मंसिर १५ गतेदेखि कीर्तिपुर क्रिकेट मैदानमा सुरु भएको थियो र पुस ६ गते फाइनल खेलका साथ समाप्त हुनेछ।
एनपीएल प्रतियोगिताले खेलाडीको प्रदर्शन र दर्शकहरूको सहभागिताका कारण थप उत्साहजनक बनेको क्यानले जनाएको छ।