img

थारू समुदायका महिलाहरुको खर जितिया सुरु


काठमाडौं ,१ असाेज ।  तराईका आदिवासी थारू समुदायका महिलाहरुले खर जितिया (शुद्ध जितिया) सुरु गरेका छन् । सन्तानको दीर्घायु, सुखसमृद्घि र मनोकामना पूर्ण गराउन तराईका आदिवासी थारु महिलालगायत अन्य समुदायले जितिया सुरुवात गरेका हुन् ।

थारू समुदायका महिलाहरुले खर जितियाकाे तस्विर

योसँगै तराईका गाउँघर र काठमाडौंमा बसोबास गर्दै आएका थारु महिलाहरुले यस वर्ष चार ठाउँमा धुमधाम जितिया मनाउने तयारी गरेका छन्। यसअघि २०७६ सालमा खर जितिया परेको थियो ।

खर जितियामा नयाँ विवाहिता महिलाहरुले जितियाको सुरुआतसमेत गरेको थारु संस्कृतिविद् भुलाई चौधरीले बताए।

उनले  भने, ‘ थारू समुदायको महान् पर्व हो- जितिया।महिलाहरू आफ्नो सन्तानको दीर्घायु, सुखसमृद्घि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिन्छन्। थारू समुदायमा जब मान्छे मर्नबाट संजोगवश जोगिन्छ तब भनिन्छ, ‘तिम्री आमाले जितिया व्रत लिएकी हुनाले तिमी बाँच्यौ। नव विवाहिताहरुको जितियाको प्रारम्भ पनि खर जितियादेखि नै गर्न पाउँछन् ।’

मुख्यतः पुर्वमा झापादेखि पश्चिमी  नवलपरासीका जिल्लामा धुमधामका साथ जितिया पर्व मनाउने गरिएको उनको भनाइ छ । चितवन र नवलपरासीका थारु महिलाहरु झम्टा पार्ने (नाँच/गान) गर्ने चलन छ ।

काठमाडौँ उपत्यकामा बसोबास गर्ने  थारु महिलाहरुले २०६२ सालदेखि  परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया पर्वलाई राष्ट्रिय महोत्सवको रुपमा मनाउने गरेका छन् ।

यसवर्ष पनि थारु महिला समाजले भृकुटीमण्डपस्थित पर्यटन बार्डमा, थारू महिला सभा काठमाडौँ उपत्यका समितिले राष्ट्रिय नाँचघर जमलमा र थारु  कला तथा विकास मञ्‍चले ललितपुरको कुपण्डोलमा एकै दिन जितिया पर्वलाई महोत्सव मनाउन लागेका हुन्।

उनका अनुसार थारु महिलाहरुले आफ्ना सन्तान तथा परिवारको दीर्घायूको कामना गर्ने गर्दै यो कठिन व्रत बस्ने गर्छन् ।

जितियाको पहिलो दिन लाई/ लहाइ अर्थात नुहाए खाने दिन (शनिबार) वर्तालु महिलाले स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना ( खैर) र माटो चढाउने गर्छन् ।

पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन (आइतबार) वर्तालु महिलाहरु  निराहार उपवास बस्नेछन्। उपवासका दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन रहेको छ।

जितियाको अन्तिम तथा पारन ( समापन)को दिन वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र स्थानमा दही तथा सखरको प्रसाद बनाई चढाउने गर्छन् र जितिया पर्वको समापन गर्ने गर्छन्। साभार ः अनलाइन खबर डटकम 

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।