अपूर्व न्यूज समाचारदाता ।
फतेपुर (सप्तरी) १९ फागुन । सप्तरीको सप्तकोसी नगरपालिका १ फतेपुर खोरिया टोलमा सोमबार बिहान बाघको आक्रमणमा परी तीन जना घाइते भएका हो ।

सोमबार जङ्गलबाट बस्तीमा पस्दा बाघको आक्रमणमा परी सप्तरीको सप्तकोसी नगरपालिका १ फतेपुर खोरिया टोलमा गणेश खत्री, कृष्ण विष्ट र रिजन गोसाई घाइते भएको प्रहरीले जनाएको छ । घाइते खत्री र गोसाईको स्थानीय फत्तेपुर पोलिक्लिनिकमा उपचार भइरहेको छ भने गम्भीर घाइते विष्टलाई थप उपचारका लागि विराटनगर लगिएको हो ।
बाघ नियन्त्रण प्रयास जारी
बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिन कोसी टप्पु वन्यजन्तु आरक्ष, राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालित भएको छ। प्रहरी चौकी फत्तेपुरका इन्चार्ज पन्नलाल चौधरीका अनुसार बाघ हाल सप्तकोसी–१ रक्तमाला टोलमा रहेको छ र नियन्त्रणका लागि प्रयास जारी छ।
स्थानीयवासी त्रसित
अचानक बाघ गाउँमा प्रवेश गरेपछि स्थानीयवासी त्रसित बनेका छन्। “बाघ कहाँबाट आयो भन्ने थाहा छैन, सबैजना डराएका छौँ,“ स्थानीय भानुभक्त भट्टराईले बताए ।
बाघलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर वन क्षेत्रमा फर्काउने प्रयास भइरहेको कोसी टप्पु वन्यजन्तु आरक्षले जनाएको छ। स्थानीय प्रशासनले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
