अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर(सप्तरी), ८ असार । सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित भलुवा जाने बाढी नियन्त्रण बाँधको भीत्रि सडक खण्डमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएकाे हाे।
ओभरटेकको प्रयास कि लापरवाही? मोटरसाइकल ठोक्किएर ज्यान गुमाउने घटना
इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिहान करिब ५:५० बजे दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको हो। कंकालिनी मन्दिरबाट भलुवा तर्फ जाँदै गरेको को १० प ५६२ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुबै सवारीका चालकको मृत्यु भएको हो।
भलुवा सडकमा बिहानको दुर्घटना: दुई युवा चालकले ज्यान गुमाए
साे दुर्घटनामा मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका–११, राजपुर निवासी १९ वर्षीय अभिनाश मण्डल र कञ्चनरुप नगरपालिका–१, बैरवा निवासी ३४ वर्षीय ओमप्रकाश पंजियार रहेका छन्। मण्डलको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो भने पंजियारको विराटनगरमा उपचारकै क्रममा ज्यान गएको हो।
उक्त दुर्घटनामा को १० प ५६२ नम्बरको मोटरसाइकलमा पछाडि सवार कञ्चनरुप नगरपालिका–१ का ३० वर्षीय सुभाष महतो घाइते भएका थिए। प्रहरीका अनुसार महतोको अवस्था सामान्य रहेकाले उपचारपछि डिस्चार्ज गरिएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।