अपूर्व न्यूज समाचारदाता ।
जनकपुर, १२ असार। थारु समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि सप्तरीमा ‘रामानन्द सिंह थारु संस्कृति विकास तथा संरक्षण अध्ययन केन्द्र तथा थारु संग्रहालय’ स्थापना हुने भएको हाे।
यस ऐतिहासिक पहललाई मधेश प्रदेश सरकारअन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले नीति तथा कार्यक्रममा समेट्दै बजेटसमेत विनियोजन गरेको छ। मन्त्रालयले केन्द्र स्थापनाका लागि चालु आर्थिक वर्षमा २५ लाख रुपैयाँको बजेट सुरक्षित गरेको हाे।
थारु समुदायको पहिचान जगेर्ना गर्दै ‘रामानन्द सिंह अध्ययन केन्द्र’ बन्ने
साे थारु समुदायको सांस्कृतिक पहिचान जगेर्ना गर्ने उद्देश्यले निर्माण हुने यो केन्द्र समुदायका प्रख्यात अगुवा रामानन्द सिंहको नाममा स्थापना गरिनेछ। यसमार्फत थारु भाषा, लोककला, परम्परा तथा सामुदायिक इतिहासको संरक्षण, अनुसन्धान र प्रदर्शनीका कार्यक्रम सञ्चालन गरिनेछ।
हालसम्म कुनै पनि राजनीतिक दलले थारु समुदायको सांस्कृतिक पक्षप्रति स्पष्ट र प्रभावकारी पहल नगरेको अवस्थामा, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको सक्रियतामा यो योजना अगाडि बढाइएको हो।
मधेश सरकारको २५ लाख बजेटमा थारु अध्ययन केन्द्र निर्माण योजना
जनमत पार्टीले थारु समुदायसँगको ऐतिहासिक सम्बन्धलाई सम्मान गर्दै सांस्कृतिक उत्थानका विषयलाई प्राथमिकताका साथ आफ्ना नीति तथा कार्यक्रममा समेट्दै आएको छ। यसै निरन्तरतामा अध्ययन केन्द्र तथा संग्रहालयको स्थापना हुन लागेको मन्त्रालयले जनाएको छ।
स्थानीयस्तरमै थारु समुदायको मौलिक भाषा, संस्कार र इतिहासमाथि अध्ययन–अनुसन्धान गर्ने तथा नयाँ पुस्तालाई थारु पहिचानबारे जानकारी दिने अवसरको रूपमा यो केन्द्रलाई विकास गरिने योजना छ।