img

सुरुङ्गा नगरपालिकामा १६ करोडभन्दा बढी बेरुजुको खुलासा


अपूर्व न्यूज समाचारदाता ।
कुशाहा(सप्तरी), १४ असार । सप्तरीको सुरुङ्गा नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को लेखापरिक्षण प्रतिवेदन अनुसार कुल १६ करोड १ लाख ३९ हजार रुपैयाँ बराबरको बेरुजु निकालिएको हाे ।
साे महालेखा परीक्षकको कार्यालयबाट जारी प्रतिवेदनले स्थानीय सरकारको वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको हाे।
प्रतिवेदनअनुसार संघीय सरकारबाट प्राप्त २७ करोड ७० लाख रुपैयाँको अनुदानमध्ये २ करोड ९८ लाख ८० हजार रुपैयाँ खर्च गर्न नसकिएको र सो रकम स्थानीय सञ्चित कोषमा जम्मा गरिएको छ। खर्च गर्न नसक्नुको प्रमुख कारण योजनाको ढिलाइ, अनुगमनको कमजोरी र आन्तरिक नियन्त्रण प्रणालीको अभाव रहेको उल्लेख गरिएको छ।

प्रमुख बेरुजुका बुँदाहरू:

१.८० लाख ८ हजार रुपैयाँ नयाँ बेरुजु थपिएको जसमध्ये २ लाख ९९ हजार असुल गर्नुपर्ने
२.७७ लाख ९ हजार कागजात पेस हुन बाँकी,
३.अघिल्लो वर्षको १५ करोड ५३ लाखमध्ये केवल ३१ लाख ७४ हजार मात्र फस्र्यौट।

साे नगरपालिकाबाट सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, सूचना प्रविधि, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा खर्च देखाइए तापनि तिनको कार्यान्वयनमा पारदर्शिता र स्पष्टता नदेखिएको बताइएको हाे।
लेखापरिक्षण प्रतिवेदनले नगरपालिकामा वित्तीय पारदर्शिता अभाव, आन्तरिक नियमन प्रणालीको कमजोरी, र नियत समयभित्र प्रतिवेदन नआउने समस्यालाई प्रमुख चुनौतीका रूपमा औंल्याएको हाे।
त्यस्तै स्थायी दरबन्दीअनुसार कर्मचारी नहुनु, विकास योजनामा ढिलासुस्ती, र लेखापरीक्षण ऐन तथा सार्वजनिक लेखा मानकको प्रभावकारी कार्यान्वयन नहुनु पनि प्रतिवेदनका प्रमुख निष्कर्ष हुन्।


प्रतिक्रिया दिनुहोस् ।