अपूर्व न्यूज समाचारदाता ।
जनकपुरधाम,२ साउन । मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले सप्तरी जिल्लाका पानी अभाव भएका क्षेत्रमा तत्काल राहतस्वरूप खानेपानी आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हाे।
मुख्यमन्त्रीको पहलमा प्रभावित गाउँबस्तीमा खानेपानी पुर्याउने कार्य प्रारम्भ
साे मुख्यमन्त्री सिंहको निर्देशनपछि सप्तरी जिल्लामा प्रदेश सरकार मातहतको डिभिजन वन कार्यालय सप्तरीको एकवटा तथा प्रदेश सरकारबाट थप दुईवटा गरी तीनवटा ट्याङ्करमार्फत पानी आपूर्तिको तात्कालिक व्यवस्था मिलाइएको हो।
जिल्ला प्रशासन कार्यालय सप्तरीलाई अति प्रभावित क्षेत्रहरूमा खानेपानी आपूर्ति व्यवस्थापन गर्न तत्काल कार्यान्वयनमा जाने निर्देशन दिइएको हाे।
यसअघि सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दहालले जिल्लामा खानेपानीको स्रोत घट्दै गएको र कृषिमा पनि प्रतिकूल असर परेको जानकारी दिँदै मुख्यमन्त्री सिंहसमक्ष आवश्यक व्यवस्थापनका लागि आग्रह गर्नुभएको हाे।
सप्तरीमा पानी संकट: प्रशासनलाई तत्काल आपूर्तिको निर्देशन
गत असार ३२ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्लामा पानी नपरेर खडेरीको अवस्था सिर्जना भएको, धान रोपाइँ तथा अन्य बाली लगाउन सकस भएको, किसानहरू गम्भीर समस्यामा परेका र अधिकांश बस्तीहरूमा खानेपानीको स्रोत सुक्दै गएकाले संघ तथा प्रदेश सरकारसँग आपतकालीन व्यवस्थापनको माग गर्ने निर्णय गरेको थियो।
प्रदेश सरकारले उक्त निर्णयको पालना गर्दै तत्काल खानेपानी आपूर्ति सुरू गरेको हो।
