मस्को (रूस), ३० साउन । रूस भ्रमणमा रहेका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतलाई रूसका लागि नेपाली राजदूत जंग बहादुर चौहान र दूतावासका कर्मचारीहरूले राजधानी मस्कोमा स्वागत गरेकाे हाे।
रूस भ्रमणपछि डा. सिके राउत भोलि स्वदेश फर्किँदै
शुक्रबार स्वागत कार्यक्रममा अध्यक्ष राउत र राजदूत चौहानबीच रूसमा रहेका नेपाली समुदायको अवस्था, समस्या र सम्भावित समाधानबारे विस्तृत छलफल भएको थियो। साथै नेपाल–रूसबीचको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने सम्भावनाहरू पनि दुवैले समीक्षा गरेका छन्, डा. राउतको सचिवालयले जानकारी दिएको हाे।
नेपाल–रूस सम्बन्ध विस्तारबारे मस्कोमा उच्चस्तरीय वार्ता
साे अवसरमा डा. राउतले गैरआवासीय नेपाली संघ (एनआरएनए) रूसका वर्तमान र पूर्व पदाधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए। छलफलमा सहभागीहरूले रूस यात्रा गर्नुपर्ने जटिल एनओसी प्रक्रिया, रेमिटेन्स पठाउँदा हुने समस्या, आर्थिक कारोबारमा आउने अवरोध, तथा दोहोरो नागरिकताको विषयमा आफ्नो गुनासो र सुझावहरू राखेका थिए।
जनमत पार्टीका अध्यक्ष डा. राउत साउन २३ गते रूस प्रस्थान गरेका थिए। उहाँ भोलि स्वदेश फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।