अपूर्व न्यूज समाचारदाता ।
जनकपुरधाम, १५ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राष्ट्रिय धान दिवस २०८२ को अवसरमा सम्पूर्ण मधेशवासी तथा देशभरका कृषक दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको हाे।

साे मुख्यमन्त्री सिंहले कृषिलाई राष्ट्रको आर्थिक मेरुदण्डका रूपमा स्वीकार गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्ने लक्ष्यसहित प्रदेश सरकारले अघि सारेको “मधेशले देशलाई खुवाउने” दीर्घकालीन अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको जानकारी दिनुभएको छ। “उत्पादन मधेशमा, विस्तार देशमा” भन्ने मूल नाराका साथ कृषि उत्पादन र उत्पादकत्वमा वृद्धिसँगै कृषिजन्य वस्तुको आयात घटाउँदै निर्यात प्रवर्द्धन गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभएकाे हाे।

धान बालीलाई लक्षित गर्दै प्रदेश सरकारले “दुई धान बाली प्रवर्द्धन कार्यक्रम” कार्यान्वयनमा ल्याएको जानकारी दिँदै मुख्यमन्त्री सिंहले माटोको उर्वरता सुधार, सिँचाइमा आत्मनिर्भरता, यान्त्रीकरण, विद्युतीकरण र व्यवसायीकरणमार्फत कृषिमा गुणात्मक सुधार ल्याउने कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो।
मुख्यमन्त्री सिंह: जलवायुमैत्री प्रविधिबाट धान उत्पादनको दिगो विकास सरकारको एजेन्डा
जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरण गर्दै जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रवर्द्धनमार्फत धान बालीको दिगो विकास सुनिश्चित गर्ने कार्य प्रदेश सरकारको मुख्य एजेन्डामा रहेको उहाँले स्पष्ट पार्नुभयो। साथै आधुनिक खेती प्रणालीको विस्तार, उन्नत बीउ, मल र सिँचाइ सुविधाको सहज पहुँचमार्फत कृषकको जीवनस्तर उकास्ने लक्ष्यअनुरूप आवश्यक नीति तथा कार्यक्रमहरू अविरल रुपमा सञ्चालन भइरहेको पनि उहाँले बताउनुभयो।
शुभकामना सन्देशमार्फत मुख्यमन्त्री सिंहले राष्ट्रिय धान दिवसले सबैमा खाद्य सुरक्षामा आत्मनिर्भर बन्ने प्रेरणा र साझा संकल्प प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दै सम्पूर्ण कृषकहरूप्रति सम्मान प्रकट गर्नुभएको हाे ।