अपूर्व न्यूज समाचारदाता ।
विरगंज, ३२ असार । मधेस सरकारले सुख्खा र पानी अभावका कारण पिरोलिएको बिरगंजका बासिन्दालाई आजदेखि अब बिरगंजमा घर-घरमै खानेपानी पुर्याइनेछ।

मंगलबार साझ मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले तत्कालै खानेपानी आपूर्ति सुरु गर्ने निर्णय गरेको हो।
साे बैठकले १६ वटा पानी ट्यांकर प्रयोग गरी बिरगंज महानगर क्षेत्रका घर-घरमा आज बिहानैदेखि पानी वितरण सुरु गर्ने व्यवस्था मिलाएको हाे।
बिपद् व्यवस्थापन समितिको निर्णय: बिरगंजमा ट्यांकरमार्फत खानेपानी वितरण सुरु हुँदै
साे गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन समितिले तत्काल राहत स्वरूप खानेपानी पुर्याउने निर्णयलाई कार्यान्वयनमा ल्याउन संयन्त्र परिचालन गरिसकेको जानकारी गराइएको हाे ।
प्रवक्ता लेखीले,- “सुख्खाका कारण उत्पन्न गम्भीर संकटलाई दृष्टिगत गर्दै सरकारले यो आपत्कालीन उपाय अवलम्बन गरेको हो। आवश्यक परे थप ट्यांकर र स्रोतसाधन पनि परिचालन गरिनेछ।”
मधेसका विभिन्न स्थानमा फैलिएको पानी संकटलाई समाधान गर्न प्रदेश सरकारले आक्रामक रणनीति अघि बढाएको छ। बिरगंजपछि अन्य प्रभावित क्षेत्रहरूमा पनि आवश्यक अनुसार पानी वितरण गरिने तयारी गरिएको बताइएको हाे।