img

जनमत पार्टीमा विश्वास र आदर्श पुनःस्थापना गर्ने व्यापक शुद्धिकरण अभियान


राजकुमार पासवान।
कञ्चनपुर (सप्तरी), २६ साउन। जनमत पार्टीभित्र आन्तरिक शुद्धिकरण अभियान सुरु गरिएको हाे।
पार्टीको संगठन विभागका प्रमुख तथा उपाध्यक्ष डा. जयकान्त राउतका अनुसार, उक्त अभियानको उद्देश्य पार्टीभित्र अनुशासन, पारदर्शिता र आदर्शलाई मजबुत बनाउँदै पक्षपात, गुटबन्दी, घुसपैठ र व्यक्तिगत स्वार्थका गतिविधिहरूको अन्त्य गर्नु हो। साथै, कार्यकर्ता र नेतृत्वबीचको विश्वास, एकता र साझा लक्ष्यप्रति प्रतिबद्धता पुनःस्थापना गर्ने लक्ष्य राखिएको छ।

जनमत पार्टीले जारी गरिएको शुद्धीकरण अभियान ।

साे अभियानअन्तर्गत सबै तहका नेताकार्यकर्ताको कार्यशैली, गतिविधि, योगदान र अनुशासनको मूल्यांकन गरिनेछ। कार्यकर्ताले देखेका समस्या, अनुशासनहीनता वा अन्य कमजोरीबारे गोप्य रूपमा सुझाव वा उजुरी दिने व्यवस्था मिलाइनेछ। यससँगै नेताकार्यकर्ताबाट लिखित प्रतिवेदन, आफ्ना काम र कमजोरीबारे आत्मसमीक्षा तथा स्वमूल्याङ्कन अनिवार्य गरिनेछ।

गुटबन्दीमुक्त र एकताबद्ध संगठन निर्माणमा जनमत पार्टीको ऐतिहासिक पहल

निष्पक्ष समितिद्वारा आरोप वा घटनाको सत्यता जाँचिनेछ। गल्ती गर्ने तर सुधारको इच्छाशक्ति देखाउनेलाई चेतावनी, प्रशिक्षण वा मार्गदर्शन दिइ गल्ती सुधारको अवसर प्रदान गरिनेछ। तर, बारम्बार नियम उल्लंघन गर्ने वा पार्टी हितविपरीत कार्य गर्ने व्यक्तिलाई निलम्बन वा बर्खास्तगीसम्मको कारबाही गरिनेछ।

डा. राउतका अनुसार, कारबाही नीतिगत आधारमा मात्र हुने छ — व्यक्तिगत आक्रोश वा बदला लिनका लागि होइन। अनुशासनलाई डरका रूपमा होइन, प्रेरणा र आदर्शका रूपमा प्रस्तुत गरिनेछ।
अभियानको रणनीतिअनुसार, पारदर्शी प्रक्रियामार्फत निर्णय र कारबाही सबैलाई स्पष्ट हुने गरी सार्वजनिक गरिनेछ। साथै, राजनीतिक शिक्षा, नीति, संगठनात्मक अनुशासन र नेतृत्व क्षमतामा तालिमको व्यवस्था पनि अभियानअन्तर्गत सञ्चालन गरिनेछ।

गल्ती सुधारको अवसरदेखि बर्खास्तगीसम्म : जनमत पार्टीको कठोर अनुशासन नीति

यस अभियानमार्फत संगठनभित्र स्वच्छ छवि र उच्च नैतिकता कायम भई, नेताकार्यकर्ताबीच आपसी विश्वास, एकता र संगठनप्रति गर्व बढ्ने तथा पार्टी जनताबीच अझ विश्वसनीय र आकर्षक बन्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस् ।