राजकुमार पासवान ।
कञ्चनपुर (सप्तरी) । सप्तरीका प्रतिनिधिसभा सदस्य खगेन्द्र कर्ण ले सप्तरीसहित मधेश प्रदेशका विभिन्न विद्यालयमा सञ्चालन भइरहेको दिवा खाजा कार्यक्रममै व्यापक भ्रष्टाचार र अनियमितता भएको आरोप लगाउँदै सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा जिम्मेवार निकायमाथि निष्पक्ष छानबिन गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेकाे हाे।
आज प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद कर्णले दिवा खाजा कार्यक्रमले सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्न तथा विद्यार्थीको विद्यालय उपस्थिति बढाउन र कक्षा छाड्ने दर घटाउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गराए। तर पछिल्ला केही वर्षयता सो कार्यक्रम अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको उनको भनाइ थियो।
दिवा खाजा कार्यक्रममा भ्रष्टाचारको आरोप, निष्पक्ष छानबिनको माग : नक्कली बिलमार्फत रकम हिनामिना भएकोले सांसद खगेन्द्र कर्णले सरकारसँग निष्पक्ष छानबिनको माग
सांसद कर्णका अनुसार मधेश प्रदेशका विभिन्न जिल्लाबाट दिवा खाजा कार्यक्रम सञ्चालनमा अनियमितता भएको व्यापक जनगुनासो आउन थालेको छ। विशेषगरी सप्तरीका केही विद्यालयमा स्थानीय सरकारले दिवा खाजाको रकम समयमै निकासा नगरेको गुनासोसमेत प्राप्त भएको उनले उल्लेख गरे।
सांसद कर्णले निकासा भएको रकमको समेत दुरुपयोग भएको दाबी गर्दै कतिपय विद्यालयमा विद्यार्थीलाई खाजा नै नखुवाई मिलेमतोमा नक्कली बिल–भर्पाइ तयार गरी रकम हिनामिना गरिएको विषय स्थानीय सञ्चारमाध्यममा सार्वजनिक भइसकेको बताए। यस्तो कार्यले बालबालिकाको अधिकारमाथि प्रत्यक्ष आघात पुगेको उनको भनाइ रहेको हाे ।
उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै बालबालिकाको हकसँग प्रत्यक्ष जोडिएको दिवा खाजा कार्यक्रमलाई पारदर्शी, प्रभावकारी र उत्तरदायी बनाउन विशेष छानबिन समिति गठन गर्न माग गरेकाे हाे ।
साे सांसद कर्णले यस्ता संवेदनशील कार्यक्रममा हुने भ्रष्टाचार र अनियमिततामाथि कडा निगरानी राख्दै दोषीलाई कानुनी दायरामा ल्याउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। उनले बालबालिकाका लागि छुट्याइएको बजेटको दुरुपयोगलाई “गम्भीर अपराध” का रूपमा लिनुपर्ने आवश्यकता समेत औंल्याएकाे हाे ।