अपूर्व न्यूज समाचारदाता ।
रुपनगर(सप्तरी) २३ फागुन । कंचनरूप नगरपालिकाद्वारा आयोजित दोस्रो संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको फाइनल खेल राजबिराज र सुरूगां नगरपालिकाबीच हुने भएको छ।
सुरूगांले उत्कृष्ट प्रदर्शन गर्दै तिलाठीलाई ६ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
दोस्रो सेमिफाइनल खेलमा सुरूगांले टस जितेर तिलाठीलाई पहिले ब्याटिङको मौका दिएको थियो। तिलाठीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११५ रनको लक्ष्य प्रस्तुत गर्यो। टिमका लागि मोहम्मद गुडुले सर्वाधिक ३५ रन बनाए भने उज्जवल झाले २१ रनको योगदान दिए। सुरूगांका बलर बिकेश चौधरीले घातक बलिङ गर्दै ३ विकेट लिए भने कर्ण बहादुर बिक र शंभु मण्डलले समान २-२ विकेट तथा कुन्दन पासवानले १ विकेट झारेकाे हाे।
साे खेलमा ११५ रनको लक्ष्य पछ्याउने क्रममा सुरूगांले १७ ओभर २ बलमै मात्र ४ विकेट गुमाएर जित हासिल गर्यो। जेम्स बिकले उत्कृष्ट ब्याटिङ गर्दै ३२ रन बनाए भने दीपक बिकले अविजित २३ रनको योगदान दिए।
यस्तै, कर्ण बहादुर बिक र शंभु मण्डलले समान १९-१९ रन जोडे। तिलाठीका बलर रमन्नद मुखियाले ३ विकेट तथा विशाल शर्माले १ विकेट हात पारेकाे हाे ।
खेलमा उत्कृष्ठ प्रदर्शन गरेका सुरूगांका बिकेश चौधरी ‘प्लेयर अफ दि म्याच’ घोषित भए। उनलाई तिलाठी कोईलाडी गाउँपालिका शिक्षा शाखाका सहायक प्रमुख ज्ञानेन्द्र कुमार यादवले सम्मान स्वरूप कप प्रदान गरे।
अायाेजकका अनुसार शनिबार हुने फाइनल खेलमा राजबिराज र सुरूगांबीच उपाधिका लागि रोमाञ्चक भिडन्त हुने भएको छ। दुवै टिम उत्कृष्ट लयमा रहेकाले क्रिकेटप्रेमीहरू फाइनल खेललाई लिएर निकै उत्साहित छन्।