धरान, २४ मंसिर । धरान उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त हुँदा नगरपालिकाका दैनिक प्रशासनिक कामहरू प्रभावित भएका छन् ।

आइतबार धरानका नगर प्रमुख हर्कराज राईले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै प्रमुख प्रशासकीय अधिकृत तुरुन्त पठाइदिन अनुरोध गरेकाे हाे ।
साे पत्रमा नगर प्रमुख राईले भनेका छन्, “यहाँ जनताको काम अड्किएर गाह्रो भैसकेको छ। धराने जनता पनि नेपाली नागरिक हुन्। अतः प्रमुख प्रशासकीय अधिकृत तुरुन्तै पठाइदिनुहोला।”
धरान उपमहानगरपालिकाका सेवाग्राहीले प्रशासनिक काममा ढिलासुस्ती र अन्योलका कारण थप समस्या भोग्नु परेको बताउँदै आएका छन्। प्रमुख प्रशासकीय अधिकृतको अभावमा निर्णय प्रक्रिया, बजेट खर्च, विकास योजना र अन्य काम कारबाही ठप्पप्रायः भएको छ।
नगरवासीहरूले पनि यस समस्याको समाधानका लागि चाँडै कदम चाल्न सरकारसँग आग्रह गरेका छन्। प्रमुख प्रशासकीय अधिकृतको तत्काल नियुक्ति नहुँदा जनतामा असन्तुष्टि बढ्ने खतरा रहेको बताइएको छ।
धरान उपमहानगरपालिकाले मन्त्रालयको शीघ्र पहलको अपेक्षा राखेको छ।