राजकुमार पासवान ।
जनकपुरधाम,१३ साउन । मधेश प्रदेशमा सुख्खा ग्रस्त क्षेत्रहरूमा राहत, पुनःस्थापना तथा दीर्घकालीन समाधानका लागि उर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको समन्वयमा प्रदेश स्तरीय वास क्लस्टरको बैठक सम्पन्न भएको हाे।

बैठक मन्त्रालयका निमित्त प्रदेश सचिव रामकुमार खंगको अध्यक्षतामा बसेको थियो। बैठकमा विकास साझेदार संस्थाहरू, मन्त्रालयका विषयगत प्रतिनिधिहरू तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो।
साे बैठकले सुख्खाको तत्कालीन प्रभाव न्यूनिकरण गर्दै दीर्घकालीन समाधानका लागि आठवटा महत्वपूर्ण निर्णयहरू गरेको हाे।
मधेशमा सुख्खा संकट: दुई दिनभित्र क्षेत्र नक्साङ्कन, सात दिनभित्र कार्ययोजना तयार गर्ने
बैठकका प्रमुख निर्णय निम्नानुसार छन् ।
१. क्षमता र क्षेत्रको नक्साङ्कन : विकास साझेदार संस्थाहरूको कार्यक्षेत्र र दक्षताको नक्साङ्कन दुई दिनभित्र सम्पन्न गरी समितिमा पेश गर्ने।
२. आपतकालीन खानेपानी तथा सिँचाइ आपूर्ति : सुख्खाबाट गम्भीर प्रभावित क्षेत्रहरू पहिचान गरी तत्काल खानेपानी र सिँचाइ व्यवस्था सुनिश्चित गर्ने।
३. अति जोखिममा परेका परिवारलाई राहत : संकटग्रस्त समुदाय तथा परिवारहरूलाई प्राथमिकताका साथ राहत सामग्री तथा सेवा पुऱ्याउने।
४. स्थानीय तहसँग सहकार्य : सम्पूर्ण कार्य स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिसँग घनिष्ठ समन्वयमा सञ्चालन गर्ने।
५. स्रोत व्यवस्थापनमा प्राथमिकता : नयाँ डिप बोरिङ वा स्यालो ट्वेल जडान गर्दा दोहोरोपना हुन नदिनेसाथै, पुराना संरचनालाई मर्मत गरी प्राथमिकताका साथ सञ्चालनमा ल्याइने। डिप बोरिङ आवश्यक परेमा सम्बन्धित विपद् समितिसँग समन्वय अनिवार्य गरिने।
६. वैकल्पिक कृषि प्रवर्द्धन : जलवायु संकटको दीर्घकालीन समाधानस्वरूप वैकल्पिक तथा सहनशील कृषि प्रणालीमा लगानी गरिने।
७. चुरे संरक्षणमा जोड : चुरे क्षेत्रको संरक्षण, व्यवस्थापन र प्रवर्द्धनका लागि सरकार, विकास साझेदार तथा निजी क्षेत्रबीच दीर्घकालीन योजना लागू गरिने।
८. विपद् व्यवस्थापन योजना ; सुख्खा ग्रस्त क्षेत्रको समग्र प्रतिकार्य तथा व्यवस्थापन योजना सात दिनभित्र तयार गरी समितिमा पेश गरिनेछ।
डिप बोरिङ, वैकल्पिक कृषि र चुरे संरक्षणमा दीर्घकालीन लगानी गर्ने तयारी
साे प्रदेश सरकारका अनुसार निर्णयहरु प्रभावकारी कार्यान्वयनले मधेश प्रदेशका सुख्खा प्रभावित नागरिकलाई शीघ्र राहत पुऱ्याउनुका साथै जलवायु प्रतिरोधी संरचना विकासमा टेवा पुग्ने विश्वास लिइएको हाे।