अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर(सप्तरी) १६ असार । सिमान्तकृत समुदायका महिला युवतीहरूलाई नेपाल प्रहरीको सहायक निरीक्षक (असई) पदमा सहभागी गराउन कञ्चनरुप नगरपालिकामा विशेष छनोट प्रक्रिया सुरु गरिएको हाे।

एफसिडिओको आर्थिक सहयोगमा यूएनओप्सद्वारा सञ्चालित सुरक्षा तथा न्याय कार्यक्रमअन्तर्गत दलित सरोकार मञ्च नेपालको समन्वयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममार्फत योग्य महिला प्रतिभाको पहिचान गर्ने कार्य अघि बढाइएको हो।

साे कञ्चनरुप नगरपालिका–८ स्थित दलित सरोकार मञ्चको सभाहलमा सम्पन्न कार्यक्रममा ६० भन्दा बढी महिला युवतीहरू सहभागी भए। कक्षा १२ उत्तीर्ण महिलाहरूमाझ केन्द्रित कार्यक्रमको उद्देश्य प्रहरी सेवाको सम्भावित प्रतिस्पर्धीको छनोट गर्नु हो।
छनौटपछि तालिम’ : योग्य महिला युवतीहरूलाई तीन महिने तयारी कक्षा
साे कार्यक्रममा यूएनओप्सका प्रतिनिधि आलोक ठाकुरले मधेश प्रदेशमा ३० लाखभन्दा बढी महिला जनसंख्या रहे पनि प्रहरी सेवामा सहभागी महिलाको संख्या ३०० भन्दा कम रहेको तथ्य प्रस्तुत गर्दै सिमान्तकृत महिलाहरूको न्यायमा पहुँच कमजोर रहेकोप्रति गहिरो चिन्ता व्यक्त गरे।
साे कार्यक्रममा इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लेखबहादुर विष्टले सहभागीलाई लैङ्गिक हिंसा, घरेलु हिंसा, साइबर अपराधलगायत कानुनी प्रावधानहरूबारे जानकारी गराउँदै नेपाल प्रहरीमा प्रवेश प्रक्रिया, शारीरिक मापदण्ड, पाठ्यक्रम र लोक सेवा आयोगको ढाँचा स्पष्ट रूपमा प्रस्तुत गरे।

साे कार्यक्रममा दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानले मधेसी, पहाडी, दलित, मुस्लिम, थारु लगायत सिमान्तकृत समुदायका महिलालाई प्रहरी सेवामा लैजान दीर्घकालीन योजना अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको बताए। “राज्य संरचनामा समान पहुँच सुनिश्चित नहुँदासम्म सशक्तिकरण अधुरो रहन्छ,” उनले प्रस्ट पारेकाे हाे ।
मधेशका छोरीहरू अब प्रहरी असई बन्ने दौडमा
स्थानीय तह र प्रहरी निकायको सहकार्यमा अघि बढाइएको यो अभियान आगामी दिनमा कञ्चनपुरस्थित निर्माणाधीन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमार्फत अझ संस्थागत रूपमा विस्तार गरिने अपेक्षा गरिएको हाे।
साे कार्यक्रममा कञ्चनरुप नगरपालिका–८ का वडाध्यक्ष कृष्ण प्रसाद साहले कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया दिँदै सशक्त र न्यायमा पहुँचहीन महिलालाई प्रहरी सेवामा अघि बढाउने यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे। साथै, इलाका प्रहरी कार्यालय कञ्चनपुरमा निर्माणाधीन महिला–मैत्री सेवा केन्द्र निर्माणमा यूएनओप्सको योगदानप्रति धन्यवाद ज्ञापन गरेकाे हाे।
सिमान्तकृत महिलाका लागि प्रहरी सेवामा सुनौलो अवसर
साे कार्यक्रममा यूएनओप्सकी सीमा सिंहले छनौट प्रक्रियामा उत्कृष्ट प्रदर्शन गर्ने ३० जनालाई तीन महिने पूर्णरूपमा निःशुल्क आवासीय तयारी कक्षा प्रदान गरिने जानकारी दिइन्। “यो केवल तालिम होइन, जीवन रूपान्तरणको अवसर हो,” उनले भनेकी थिइन्।