img

सप्तरी–१ मा जेनजी आन्दोलनपछि बद्लिँदो राजनीति: युवा, महिला र दलित उम्मेदवारबीच कडा प्रतिस्पर्धा


कञ्चनपुर(सप्तरी) । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देशभर चुनावी सरगर्मी बढ्दै गएको हाे। मधेश प्रदेश अन्तर्गत पर्ने सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा यसपटकको चुनावलाई विशेष अर्थका साथ हेरिएको छ। जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक चेतना, युवापुस्ताको सक्रियता र समावेशी नेतृत्वको मागले यहाँको चुनावी प्रतिस्पर्धालाई अझ रोचक बनाएको हाे।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट रामदेव साह,स्वाभिमान पार्टीबाट इन्जिनियर सुमित साह, नेकपा एमालेबाट पूर्व राष्ट्रियसभा सांसद सुमनराज प्याकुरेल, जनता समाजवादी पार्टी नेपालबाट युवा दलित नेता श्यामसुन्दर सरदार उम्मेदवार बनेका छन्। सरदार मधेश प्रदेश दलित विकास समितिका सदस्य रहँदै दलित समुदायको उत्थान र शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। उनी राष्ट्रिय सरदार बाँतर समाज विकास केन्द्रका केन्द्रीय सभापति पनि हुन्।

जेनजी आन्दोलनपछि बदलिँदो राजनीतिक परिवेशमा सप्तरी–१ मा पुराना र नयाँ दलबीच कडा प्रतिस्पर्धा, युवा, महिला र दलित उम्मेदवारको सशक्त उपस्थितिले चुनावलाई रोचक बनाएको छ।

यस्तै, स्वाभिमान पार्टीबाट इन्जिनियर सुमित साह उम्मेदवार बनेका छन्। नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको यस पार्टीमा अनुभवी नेताहरूको समेत सहभागिता रहेको छ। युवाको आवाज, संगठनात्मक क्षमता र समावेशी सोचका कारण सुमित साह यस क्षेत्रमा लोकप्रिय बन्दै गएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले कञ्चनरुप नगरपालिका निवासी ३६ वर्षीया स्वास्थ्यकर्मी तथा व्यवसायी पुष्पा कुमारी चौधरीलाई उम्मेदवार बनाएको छ। पार्टी स्थापनाकालदेखि सक्रिय रहेकी चौधरीको उम्मेदवारीले महिला सहभागिता र नयाँ राजनीतिक संस्कारको सन्देश दिएको छ।

पुस्तान्तरणको प्रभाव ः सप्तरी–१ को चुनावमा स्पष्ट देखिएको छ। पुराना अनुभवी नेतासँगै युवा, महिला र दलित उम्मेदवारको बढ्दो उपस्थितिले नयाँ राजनीतिक संस्कार, समावेशिता र नेतृत्व परिवर्तनको संकेत गरेको छ। यसले मतदातामा नयाँ आशा र उत्साह थपेको छ।

यस क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) का रविन्द्र चौधरी, जनमत पार्टीका उपाध्यक्ष डा. जयकान्त राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सत्यजित कुमार झा, उज्यालो नेपाल पार्टीका हर्क नारायण चौधरीलगायत विभिन्न दलका उम्मेदवारहरू पनि मैदानमा छन्। कुल २२ जना उम्मेदवार र ७ जना स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ।

यसपटकको निर्वाचनलाई केवल व्यक्तिगत प्रतिस्पर्धाका रूपमा नभई युवापुस्ताको उदय, महिला सशक्तिकरण, दलित प्रतिनिधित्व र पुरानो–नयाँ राजनीतिक धारबीचको संघर्षका रूपमा हेरिएको छ। जेनजी आन्दोलनपछि बढेको सचेतनाले मतदातालाई नीति, नेतृत्व र इमानदारीका आधारमा मतदान गर्न प्रेरित गरिरहेको देखिन्छ।

उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएसँगै सबै दल प्रचार–प्रसारमा सक्रिय भएका छन्। घरदैलो, सामाजिक सञ्जाल, युवा संवाद कार्यक्रम र सामुदायिक छलफलमार्फत मतदातालाई आकर्षित गर्ने प्रयास तीव्र बनेको छ।

मतदानको समय आउन अझै केही समय बाँकी रहेकाले नतिजा अनुमान गर्न कठिन छ। तर, युवाशक्ति, महिला सहभागिता र दलित नेतृत्वको मजबुत उपस्थितिले सप्तरी–१ को चुनावलाई ऐतिहासिक र परिवर्तनमुखी बनाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस् ।