कञ्चनपुर (सप्तरी) ५ कार्तिक । सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिकाकी १३ वर्षीया एक बालिका बलात्कारको शिकार भएकी छिन्।
साे तिरहुत गाउँपालिका–५, लोहजरा टोलका १९ वर्षीय अनिलकुमार महतोले बालिकालाई ललाइफकाई बलात्कार गरेका थिए तथा घटना कसैलाई नभन्ने भन्दै ज्यान मार्ने धम्कीसमेत दिएका थिए। पीडित पक्षले डरका कारण घटना तत्क्षण सार्वजनिक गर्न नसक्दा ढिला खुलासा भएको जनाएको हाे।
दलित सरोकार मञ्च र मानवअधिकारकर्मीहरूको पहलमा पीडित परिवारलाई इन्सेकद्वारा पीडित बालिकालाई आर्थिक सहयोग गरेको हाे ।
पीडित बालिकाले २०८२ भदौ १९ गते शिशु जन्माइसकेकी छन्। घटना सार्वजनिक भएपछि २०८२ असार १३ गते पीडित परिवारले इलाका प्रहरी कार्यालय, कञ्चनपुरमा उजुरी दर्ता गराएका थिए। उजुरी दर्तासँगै मुद्दा प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ। उजुरी दिएको दिनमै गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा बालिकाको स्वास्थ्य परीक्षण गराइएको थियो।
इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीका प्रहरी निरीक्षक माधव प्रसाद काफ्लाका अनुसार आरोपी हालसम्म फरार रहेका छन् र उनको खोजी कार्य तीव्र रूपमा जारी छ।
साे पीडित बालिकालाई न्याय दिलाउन तथा तत्कालीन आर्थिक सहायता उपलब्ध गराउन असोज २७ गते दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानले इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानसमक्ष निवेदन पेश गरेका थिए। त्यसपछि मानवअधिकारकर्मी (इन्सेक) नविन कुमार यादवले पीडित पक्षलाई १० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।
ईलाका प्रहरी कार्यालय कञ्चनपुरमा दर्ता उजुरीबारे मुद्दा अघि बढ्दा स्थानीयको साथ–सहयोग : प्रहरी प्रमुख काप्ले
उक्त रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ, सप्तरीका सह–सचिव तथा प्रेस चौतारीका अध्यक्ष डम्बर राई, वडा अध्यक्ष अशोक कुमार आचार्य, पीडित बालिकाकी आमा, स्थानीय प्रतिनिधि हरीप्रसाद चौधरी, सोफिलाल लाल यादव तथा इलाका प्रहरी महुलीका प्रहरी हवल्दार इश्वर कार्कीलगायतको उपस्थिति थियो।
कार्यक्रमका सहभागीहरूले पीडित बालिकाको स्वास्थ्य, पालनपोषण तथा कानुनी प्रक्रियामा आवश्यक सबै सहयोग सुनिश्चित गर्न जोर दिए। यता, इन्सेक मधेश प्रदेशले पीडित परिवारलाई निरन्तर साथ र सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको हाे।