राजकुमार पासवान ।
जनकपुरधाम, ११ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मिथिलाञ्चलको सांस्कृतिक र पारिवारिक एकताको प्रतीक पर्व मधुश्रावणीको अवसरमा सम्पूर्ण मैथिल समुदायलाई शुभकामना व्यक्त गरेकाे हाे।

आइतबार मुख्यमन्त्री सिंहले शुभकामना सन्देशमार्फत मधुश्रावणी व्रतलाई मिथिला संस्कृतिको गौरवशाली परम्परा, महिलाको समर्पण र पारिवारिक सहअस्तित्वको अद्वितीय प्रतीकका रूपमा व्याख्या गरेका छन्। उनले भने, “यो पवित्र व्रत प्रेम, आस्था र संस्कृति प्रतिको अटूट श्रद्धाको प्रतीक हो। यसले वैवाहिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै मिथिला समाजको लोकविश्वास र परम्परालाई जीवन्त राख्ने काम गरेको छ।”

मुख्यमन्त्री सिंहका अनुसार मिथिलाकी विवाहित नारीहरूले पति दीर्घायु, पारिवारिक सुख-शान्ति र समृद्धिको कामनासहित यो व्रत परम्परागत विधिपूर्वक मनाउने चलनले मिथिलाको सांस्कृतिक अनुशासन झल्काउँछ।

शुभकामना सन्देशमा उनले मधुश्रावणी पर्वले समाजमा सहिष्णुता, आपसी समझदारी र सामूहिक भावनालाई बलियो बनाउने उल्लेख गर्दै यस पर्वले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएको बताएका छन्।
अन्त्यमा मुख्यमन्त्री सिंहले सम्पूर्ण मैथिल समाजमा प्रेम, विश्वास, स्वास्थ्य, सुख र समृद्धिको निरन्तरता रहोस् भन्ने कामना गरेका छन्।