img

मुख्यमन्त्री सिंहद्वारा आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलका पदाधिकारीलाई बधाई तथा सफल कार्यकाल शुभकामना


अपूर्व न्यूज समाचादाता ।
जनकपुरधाम, १२ असार ।  मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले हालै नवगठित मधेश मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणका अध्यक्ष तथा सदस्यहरुलाई हार्दिक बधाई सफलताको शुभकामना व्यक्त गर्नुभएको हाे।
बिहीबार मुख्यमन्त्री सिंहले सञ्चार क्षेत्र लोकतन्त्रको अभिन्न अंग रहेको उल्लेख गर्दै नवनियुक्त पदाधिकारीहरूप्रति गहिरो विश्वास व्यक्त गर्नुभयो कि— उनीहरूले स्वतन्त्र, मर्यादित, उत्तरदायी र जनमुखी सञ्चार वातावरणको विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।
मुख्यमन्त्री सिंहले भन्नुभयो, “मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरण जस्ता संस्थाहरू प्रदेशको सञ्चार संरचना सुदृढ बनाउने मेरुदण्ड हुन्। यस्ता निकायहरूमा योग्य र प्रतिबद्ध नेतृत्वको आगमन हुनु प्रदेशको पत्रकारिता क्षेत्रका लागि सकारात्मक संकेत हो।”

मुख्यमन्त्री सिंहले लोकतन्त्र सुदृढ गर्न, प्रेस स्वतन्त्रता कायम राख्न र सञ्चार माध्यमहरूको व्यावसायिकता र जवाफदेहितामा सुधार ल्याउन संस्थागत ढाँचामा पहल गर्नुपर्नेमा जोड दिनु भएको हाे ।

सञ्चार क्षेत्रलाई व्यवस्थित र अनुशासित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले नयाँ नेतृत्वले सबै सञ्चार माध्यमहरूसँग समन्वय गर्दै एकीकृत नीतिगत र संस्थागत सुधारहरू ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले संचारकर्मीहरूको हकहित संरक्षण, मिडिया आचारसंहिता कार्यान्वयन, प्रेस परिषद्को सुदृढीकरण लगायतका विषयमा सरकार सकारात्मक रहेको पनि प्रष्ट पार्नुभयो।
साे कार्यक्रमका क्रममा मुख्यमन्त्री सिंहले लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रताको रक्षा गर्ने जिम्मेवारी अझ बढी महत्वपूर्ण बन्न गएको उल्लेख गर्दै नवगठित काउन्सिल र प्राधिकरणका सदस्यहरूलाई निष्पक्ष, पारदर्शी र जवाफदेही भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
यस अवसरमा मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणका पदाधिकारीहरूले पनि प्रदेशको सञ्चार क्षेत्रको सुधार, विकास र आत्मानुशासनको प्रवर्द्धनका लागि कटिबद्ध रहने प्रतिवद्धता जनाएका थिए।


प्रतिक्रिया दिनुहोस् ।