अपूर्व न्यूज समाचारदाता ।
जनकपुरधाम,३ साउन । मधेस प्रदेशको वन निर्देशनालयले आर्थिक वर्ष २०८१/८२ मा ४ सय ४२ हेक्टर वनजङ्गलको जमिन अतिक्रमणमुक्त गरेको जनाएको हाे।

साे निर्देशनालयका अनुसार धनुषामा ३० हेक्टर, सर्लाहीमा १७५ हेक्टर, सप्तरीमा १११ हेक्टर, बारामा ५४ हेक्टर, पर्सामा ४५ हेक्टर, रौतहटमा १२ हेक्टर, सिरहामा १० हेक्टर तथा महोत्तरीमा ३ हेक्टर वन क्षेत्र फिर्ता गरिएको हो।
वन निर्देशनालयका निर्देशक जग्गनाथप्रसाद जयसवालका अनुसार हाल पनि मधेस प्रदेशभर १६ हजार ५ सय ९९ हेक्टर वनजग्गा अतिक्रमणमा परेको हाे।
सर्लाही, सप्तरी र धनुषामा सबैभन्दा धेरै वन अतिक्रमणमुक्त
वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले वन अतिक्रमणजस्ता समस्या समाधानमा प्रशासनिक संयन्त्र मात्र पर्याप्त नहुने भन्दै राजनीतिक दल, जनप्रतिनिधि र स्थानीय सरोकारवालाको सहकार्य अपरिहार्य रहेको बताए।
त्यसैगरी मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले अतिक्रमण नियन्त्रणका लागि निर्देशनालयअन्तर्गतका कार्यालयहरूलाई कडाइका साथ कार्यान्वयनमा लाग्न परिपत्र गरिएको जानकारी दिए। उनले आवश्यक जनशक्ति परिचालन गर्दै प्रभावकारी समन्वय र अनुगमनमार्फत परिणाममुखी काम हुने प्रतिबद्धता पनि जनाएकाे हाे ।
मधेसमा ८९ स्थानीय तहमा वनक्षेत्र नै छैन
मधेस प्रदेशमा जम्मा तीन दशमलव ७२ प्रतिशत भूभाग मात्र वनले ढाकेको छ। कुल दुई लाख दुई हजार २०२ हेक्टर वन क्षेत्रमध्ये १३६ स्थानीय तहहरूमध्ये ८९ वटामा वन क्षेत्र नै नरहेको निर्देशनालयले जनाएको हाे।
देशभर कुल भूभागको ४५ प्रतिशत क्षेत्र वनले ढाकेको भए पनि, आठ प्रतिशत वन क्षेत्र अतिक्रमणको चपेटामा परेको जानकारी पनि दिइएको हाे।