अपूर्व न्यूज समाचारदाता ।
जनकपुरधाम, ७ जेठ । मधेश प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले प्रदेश सरकारले जेठ १५ पछि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिनुभएको हाे।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लेखीले बजेट सञ्चारमैत्री हुने स्पष्ट पार्दै कार्यक्रम र बजेट दुवैको तयारी तीव्र गतिमा भइरहेको उल्लेख गर्नुभएकाे हाे ।
उहाँले आगामी आर्थिक वर्षको बजेट असार १ गतेअघि नै सार्वजनिक गरिने जनाउँदै, चालु वर्षमा सञ्चार मन्त्रालयले न्यून बजेटका कारण अपेक्षित काम गर्न नसकेको स्वीकार गर्नुभयो। आगामी बजेटमा सञ्चार क्षेत्रको सशक्तीकरणमा जोड दिइने उहाँको भनाइ थियो।
मधेश प्रदेशका प्रवक्ता लेखी,भने प्रदेशमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका संरचनाहरू अपेक्षाकृत कमजोर भएकाले तिनीहरूको मजबूतीकरण तथा नयाँ संरचना निर्माणका लागि बजेट छुट्याइने छ।
यस्तै गरि शहिद परिवारलाई सम्मान तथा सहारा दिने उद्देश्यले यस वर्ष ५० लाख रुपैयाँ छात्रवृत्तिका लागि विनियोजन गरिएको र आत्मनिर्भर बनाउन सीपमूलक तालिमसहित रोजगारीका उपकरण उपलब्ध गराउने योजना पनि सरकारले अघि सारेको मन्त्री लेखीले जानकारी दिनुभयो।