राजकुमार पासवान ।
जनकपुरधाम,११ साउन । मधेश प्रदेशमा लामो समयदेखि जारी खडेरीको गम्भीर असरपछि सरकारद्वारा ६० दिने आपतकालीन राहत कार्यक्रम सुरु गरिएको हाे।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा र बेलायत सरकारअन्तर्गत सञ्चालित ‘स्टार्ट फन्ड नेपाल’ परियोजना अन्तर्गत यो कार्यक्रम सञ्चालनमा आएको हो।
साे खडेरीबाट प्रत्यक्ष प्रभावित पर्सा, बारा, रौतहट, सर्लाही, सिराहा र सप्तरी जिल्लाका १० वटा स्थानीय तहमा लागू हुने उक्त कार्यक्रम आगामी ६० दिनसम्म सञ्चालन हुनेछ। कार्यक्रमबाट ८ हजार ३५५ घरधुरीका करिब ४४ हजारभन्दा बढी नागरिकले प्रत्यक्ष लाभ पाउने प्राधिकरणले जनाएको छ।
स्टार्ट फन्ड नेपालको सहकार्यमा खडेरी प्रभावित क्षेत्रमा तत्काल राहत र दीगो समाधान
मधेश प्रदेशमा कुल २ करोड ६० लाख ३३ हजार ४७६ रुपैयाँको बजेट विनियोजनमा सञ्चालन हुने यो कार्यक्रम प्रदेश सरकारले सुख्खा क्षेत्र घोषणा गरेपछि र संघीय मन्त्रिपरिषद्ले संकटग्रस्त क्षेत्रको घोषणा गरेलगत्तै लागू गरिएको हो।
कार्यक्रमलाई तीन चरणमा विभाजन गरिएको छ:
पहिलो चरणमा तत्काल आपूर्ति आवश्यकताअन्तर्गत खडेरीग्रस्त क्षेत्रमा आपतकालीन पानी वितरण गरिनेछ।
दोस्रो चरणमा दीर्घकालीन समाधानका लागि गहिरो बोरहोल खन्ने सम्भाव्यता अध्ययन, अवस्थित सिँचाइ प्रणालीको सुधार तथा सरकारी समन्वयमा दिगो पानी व्यवस्थापन संरचना निर्माण गरिनेछ।
मधेश प्रदेशमा ६० दिने खडेरी राहत कार्यक्रम सुरु, ४४ हजारभन्दा बढी प्रभावित लाभान्वित
तेस्रो चरणमा जीविकोपार्जन पुनःस्थापनालाई प्राथमिकता दिँदै कृषकहरूलाई ‘क्यास फर वर्क’ कार्यक्रम, सिँचाइ मर्मत र वैकल्पिक बाली प्रवर्द्धनमा प्राविधिक सहयोग प्रदान गरिनेछ।
प्राधिकरणका अनुसार स्टार्ट फन्ड नेपाल र यसका साझेदार संस्थाहरूको समन्वयमा कार्यक्रमको कार्यान्वयन सुनिश्चित गरिनेछ। यो राहत कार्यक्रमले खडेरीबाट आक्रान्त समुदायहरूलाई तत्काल राहतसँगै दीगो समाधानको बाटो खोल्ने विश्वास लिइएको छ।