img

रौतहटको बमकाण्डका जीवित साक्षी गौरीशंकर रामको सुरक्षाप्रति इन्सेकको गम्भीर चिन्ता


राजकुमार पासवान ।
काठमाडौं, २५ असार । रौतहटको चर्चित बमकाण्डका जीवित साक्षी ४३ वर्षीय गौरीशंकर रामको भौतिक सुरक्षाप्रति मानवअधिकार संस्था इन्सेकले गम्भीर चासो र चिन्ता व्यक्त गरेको हाे।

इन्सेक                                फाइल फाेटाे

बुधबार इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा २०६४ साल चैत २७ गते रौतहटको राजपुरस्थित मोहम्मद अफताब आलमका काका शेख इद्रिशको घरमा भएको बम विस्फोटनमा गम्भीर घाइते भएका गौरीशंकर रामको सुरक्षाको सवाल अत्यन्त संवेदनशील र टड्कारो रहेको उल्लेख गरिएको हाे।

 इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले जारी गरेको प्रेस विज्ञप्ति ।

उक्त घटनामा दुई जनाको ज्यान गएको थियो भने २० भन्दा बढी घाइते भएका थिए। घटनापछि त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहितलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरिएको आरोप तत्कालीन सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलममाथि लागेको थियो।

इँटाभट्टा काण्डका प्रमाण गौरीशंकरलाई संरक्षण दिन इन्सेकको माग

घटनाको १५ वर्षपछि २०७६ असोज १९ गते आलमलाई प्रहरीले गिरफ्तार गरेको थियो। त्यसपछि रौतहट जिल्ला अदालतले २०८१ साल वैशाख १३ गते आलमलाई जन्मकैदको फैसला सुनाएको थियो। अदालतले सो फैसलामा गौरीशंकरको बयान र स्वास्थ्य प्रतिवेदनलाई महत्वपूर्ण प्रमाणका रूपमा लिएको थियो। साथै उनीमाथि सुरक्षा चुनौती रहेको भन्दै सरकारलाई सुरक्षाका लागि विशेष प्रबन्ध गर्न आदेश पनि दिएको थियो।
तर, जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासले २०८२ जेठ १४ गते जिल्ला अदालतको फैसला उल्ट्याउँदै आलमसहित आरोपितहरूलाई सफाइ दिएको थियो। फैसलापछि आफूलाई थप सुरक्षा खतरा भएको भन्दै गौरीशंकर राम अहिले काठमाडौँमा आश्रय लिएर बसेका छन्।

अफताब आलम सफाइपछि साक्षी गौरीशंकरको जीवन संकटमा

इन्सेकले बम विस्फोटका प्रत्यक्षदर्शी तथा पीडित गौरीशंकर राम चमारको जीवन र सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको भन्दै सरकारसँग तुरुन्त प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन माग गरेको छ। साथै घटनाको एक हप्तापछि इन्सेकले स्थलगत अध्ययन, प्रत्यक्षदर्शी र सम्बन्धित पक्षहरूसँगको कुराकानीका आधारमा विस्तृत अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिसकेको समेत स्मरण गराइएको छ।


प्रतिक्रिया दिनुहोस् ।