अपूर्व न्यूज समाचारदाता ।
कञ्चनरुप (सप्तरी), १५ असार । राष्ट्रिय धान दिवसको अवसरमा कञ्चनरुप नगरपालिकाका मेयर पदका प्रत्यासी तथा सामाजिक अभियन्ता भोला पासवानले किसानको समस्यामाथि राज्यको गम्भीर उदासिनताप्रति आक्रोश व्यक्त गरेकाे हाे ।

सामाजिक अभियन्ता पासवानले समर्थन मूल्यको कार्यान्वयन विहीनतालाई ‘राजनीतिक देखावटी’ भन्दै सरकारको निष्क्रियता कडा शब्दमा आलोचना गरे।
“धान फलाएर किसानले पसिना सुकाउँछन्, सरकार भने हेरिरहन्छ,” सन्देशमार्फत पासवानले भने, “धानको मूल्यले किसानको लागत पनि उठ्दैन। भुसकै मूल्यमा पसिनाको प्रतिफल किन बेच्नुपर्ने? समर्थन मूल्य घोषणा मात्रै हो भने त्यसको अर्थ के रह्यो?”
साे पासवानले नेपालमा उब्जनीका लागि अनुकूल माटो, मौसम र श्रमशक्ति हुँदाहुँदै पनि कृषि आत्मनिर्भर नहुनु दुःखद भएको बताए। उनका अनुसार सरकारी नीतिमा किसानको पीडा नसमेटिएको, वितरण प्रणाली कमजोर रहेको र अनुदान प्रणाली प्रभावहीन बनिरहेकाले समस्या जटिल बन्दै गएको छ।
उनले स्थानीय तहलाई किसानसँग प्रत्यक्ष संवादमा आधारित व्यवहारिक नीति निर्माण गर्न, उत्पादनसँगै बजार व्यवस्थापन सुधार गर्न र जैविक कृषिको प्रवर्द्धनमार्फत दीगो समाधान खोज्न आग्रह गरेकाे हाे ।
सरकार तीन तहमा भए पनि किसान एक्लै छन्,” भन्दै उनले भने, “अब समय आएको छ।
किसानलाई राष्ट्रिय प्राथमिकताको केन्द्रमा राखेर न्यायसंगत कृषि नीतिको पुनरावलोकन गरौं।”
उनले कृषि सुधारका लागि वैज्ञानिक सोच, प्रविधिमा पहुँच र नीति कार्यान्वयनमा प्रतिबद्धता आवश्यक रहेको औंल्याउँदै, किसानको मनोबल उच्च राख्नका लागि राज्य जिम्मेवार बन्नुपर्ने माग गरेकाे हाे।