राजकुमार पासवान ।
जनकपुरधाम, २६ असार। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चुरे क्षेत्रको संरक्षणका लागि संघ, प्रदेश र स्थानीय सरकारको साझा प्रयास आवश्यक रहेको बताएकाे हाे ।

साे बिहीबार धनुषाको लालगढीमा आयोजित प्रदेशस्तरीय स्रोत परिचालन समिति तथा प्रदेश समन्वय समितिको संयुक्त बैठक उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले पछिल्लो समय मौसमको प्रतिकूलता, वातावरणीय असन्तुलन र खोलाको सतह बढ्दै जानुले प्राकृतिक प्रकोपको खतरा बढेको बताए।
साे राष्ट्रपति चुरे-तराई–मधेश संरक्षण विकास समितिको कार्यक्रम कार्यान्वयन इकाई जनकपुरधामद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले चुरे क्षेत्रमा मरुभूमीकरण रोक्न तथा नदीजन्य पदार्थको वातावरणमैत्री तरिकाले उत्खनन गर्नुपर्नेमा जोड दिए।
प्राकृतिक प्रकोपको खतरा बढ्दो, चुरे क्षेत्रको संरक्षणमा विशेष ध्यान दिन मुख्यमन्त्रीको आग्रह
वहाले भने, “नदीजन्य स्रोतको वैज्ञानिक र वातावरणमैत्री उत्खननले संरचना जोगाउनुका साथै निर्यातमार्फत आम्दानी वृद्धि गर्न सकिने सम्भावना छ।”
कार्यक्रमको क्रममा मुख्यमन्त्री सिंहले आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशले अहिलेसम्मकै सबैभन्दा बढी ७१.४८ प्रतिशत बजेट खर्च गरेकोमा खुशी व्यक्त गर्दै यो उपलब्धिका लागि प्रदेश सरकार मातहतका कर्मचारीहरू र सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।