राजकुमार पासवान ।
कञ्चनपुर (सप्तरी), १० साउन । मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले आपनो गृह जिल्लामा स्थानीय नागरिक तथा किसान समुदायसँग विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको हाे।
गृहमन्त्री लेखीद्वारा कञ्चनपुरमा किसान तथा जनप्रतिनिधिसँग विशेष अन्तरक्रिया
शनिबार समृद्ध र दिगो मधेस निर्माणको उद्देश्यले सधैं स्थानीय नागरिक तथा किसान, समाजसेवी, बुद्धिजीवी, जनसमुदायसँग निरन्तर समन्वयमा रहँदै आउनु भएका मन्त्री लेखीले उक्त अवसरमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ कञ्चनपुर बेरियरमा प्रदेश सरकारका आगामी नीति, कार्यक्रम र विकास निर्माणसम्बन्धी प्राथमिकताबारे जानकारी दिनुका साथै सर्वसाधारणको गुनासो, सुझाव र आवश्यकतालाई प्रत्यक्ष रूपमा छलफल गरेको हाे।

साे छलफलमा हाल वर्षा नपरेकाले सिँचाइ अभावका कारण प्रमुख अन्नबालीहरूमा गम्भीर असर परेको विषयमा गहन छलफल भएकाे हाे।
समृद्ध र दिगो मधेसका लागि नीति र कार्यक्रमबारे मन्त्री लेखीको प्रत्यक्ष जानकारी
सहभागी किसानहरूले समयमै वर्षा नहुँदा बाली सुक्न थालेको, त्यसको प्रत्यक्ष असर खाद्य सुरक्षामा पर्ने देखिएको बताएकाे हाे। मन्त्री लेखीले सम्भावित खाद्य संकट न्यूनीकरण गर्न आवश्यक तत्कालीन उपायहरूबारे छलफल गर्दै सरकार संवेदनशील र गम्भीर रहेको आश्वासन दिनु भएको हाे।
साथै जलवायु परिवर्तन र बढ्दो प्रदूषणका कारण देखा परेका कृषि तथा स्वास्थ्यसम्बन्धी समस्याहरूको दीर्घकालीन समाधानका लागि नीति निर्माण, प्रविधिमैत्री कार्यक्रम र वैकल्पिक उपायबारे सुझाव संकलन गरिएको जानकारी गराइएकाे हाे।
स्थानीय नागरिकहरू गृहमन्त्री लेखीको सक्रियता र प्रत्यक्ष संवादलाई सकारात्मक रुपमा लिँदै यस्तो अन्तरक्रियाले सरकार र जनताको सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गरेकाे हाे।